खतरनाक संक्रमणबीच तीन अर्ब यात्राको तयारी गर्दै चीन

चिनियाँ नयाँ वर्ष नजिकिएसँगै यात्राको सङ्ख्या अरबौँ पुग्ने अनुमान गरिएको छ भने देशभर भारी ट्राफिकको समस्या यातायात प्रणालीका लागि ठूलो चुनौती हुने बताइएको छ । तर यस वर्ष चीनले पर्वकै समयमा द्रुत गतिमा फैलिरहेको एउटा नयाँ रहस्यमयी र खतरनाक भाइरसको पनि सामना गर्नुपर्ने भएको छ ।
भाइरस यसैबेला फैलिनुले चिनियाँ नयाँ वर्षको उल्लासपूर्ण माहोल नै जोखिमदायक बनाइदिनेबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ । ४० दिनको आधिकारिक भ्रमण मौसम सुरु भएलगत्तै पृथ्वीको सबैभन्दा ठूलो मानव स्थानान्तरणको नाम दिइएको चिनियाँ भ्रमण क्रम सुरु हुनेछ । पारिवारिक मेलमिलाप, साथीभाइ आफन्तसँग भेट गर्ने एक मात्र अवसर मानिने भएकाले पनि यो बिदाको समयमा चीनभर तीन अर्ब बढी यात्रा तय गरिने बताइएको छ ।
तर यसैबीच गत डिसेम्बरदेखि वुहानबाट सुरुभएको एउटा खतरनाक भाइरस अनियन्त्रित रुपमा फैलिएको हो जसका कारण ६ जनाको मृत्यु भइसकेको छ भने हजार भन्दा बढीमा संक्रमण फैलिएको विज्ञहरुको अनुमान छ । यसरी चीन बाहिरसमेत संक्रमण फेला परेपछि एसिया सहित बाँकी विश्वले पनि सुरक्षामा कडाइ गरेका छन् । स्प्रिङ फेस्टिभलका रुपमा मनाइने चिनियाँ नयाँ वर्षलाई अति महत्वपूर्ण मानिन्छ जसका लागि सात दिनको बिदा दिइएको हुन्छ । यसवर्ष यो चाड जनवरी २४ मा परेको छ ।
परम्परागत रुपमा यसलाई १६ दिनसम्म मनाइने गरिएको छ जसमा यो वर्ष पनि ४४ करोड यात्रा रेल मार्फत गरिने बताइएको छ जुन अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत बढी हो । त्यस्तै ७ करोड यात्रा हवाइ सेवा मार्फत सञ्चालन हुने बताइएको छ जसमा एक दिनमा औसतमा पनि १७ हजार सम्म उडान हुने बताइएको हो । बेइजिङको नयाँ डेक्सिङ विमानस्थलले मात्र १९ लाख यात्रा धान्न सक्ने अपेक्षा गरिएको छ । यस्तोमा धेरै विमानस्थलहरुले नयाँ भाइरसको संक्रमण रोक्न परीक्षण सेवा लागू गरिसकेका छन् ।
विगतमा चिनियाँहरुले नयाँ वर्षको धेरै बिदा यात्रामै खर्च गर्नुपर्ने हुन्थ्यो तर केही समय अगाडि मात्र चीनले सुरु गरेको नयाँ हाइ–स्पिड रेलवे नेटवर्कले लामो दुरीलाई धेरै छाटो समयमा पार गर्न मिल्ने बनाइदिएको छ । थुप्रै नयाँ बुलेट ट्रेनहरुले पश्चिम चीन तर्फका कठिन पहाडी यात्रालाई साधारण रेलको तुलनामा आधा भन्दा बढीले कम गराइसकेका छन् । यसैगरी अहिले चीनका ग्रामीण क्षेत्रमा समेत उद्योगहरु खुलिरहेको हुँदा धेरै मानिसहरु घर नजिकै रोजगार हुन पाउँदा लामो यात्राबाट छुट्कारा पाइरहेको बताइएको छ । यसरी चीन धनी हुँदै जाँदा धेरै चिनियाँहरु बिदाको समयमा तातो ठाउँ भ्रमणमा जाने ट्रेन्ड बढेको छ भने विदेश यात्राको सङ्ख्यामा पनि उल्लेखनीय रुपमा वृद्धि भइरहेको पाइएको छ ।
मानिसहरुले महङ्गो भाडादरबाट बच्न महिनौँ अगाडिदेखि टिकट बुक गर्ने गरेका छन् । तर पनि पछिल्लो समय प्रविधिको विकासले लामो लाइनमा बस्नु नपर्ने बनाइदिएको हो । तर इन्टरनेटको पहुँच नभएकाहरु भने अझैपनि समस्यामै छन् । चाडपर्वको समयमा अधिक क्यासको प्रयोग हुने हुँदा यसले आर्थिक रुपमा पनि ठूलो प्रभाव पार्न सक्छ जसकारण चीनको केन्द्रीय बैंकले अहिले उच्च सर्तकता अपनाइरहेको बताइएको छ । त्यस्तै यो पर्वले स्थानीय मदिरा लगायत विभिन्न व्यवसायहरुलाई पनि फाइदा गराउने गरेको छ ।
तर अर्कोतर्फ करोडौँ नागरिकहरु यात्रा गर्ने समयमै पहिलोपटक चीनले यति ठूलो भाइरल प्रकोपको सामना गर्नुपरिरहेको छ ।सोमबार मात्र चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सो भाइरस एउटा मान्छेबाट अर्कोमा प्रत्यक्ष सर्न सक्ने पक्का गरिसकेको छ जसले भडिभाडको आगामी पर्वलाई झन समस्याजनक बनाइदिने भएको छ । बेलायतमा आधारित वेलकम ट्रस्ट ग्लोबल हेल्थ च्यारिटीका निर्देशक, माइक टर्नरका अनुसार यो भाइरस आजभन्दा ५० वर्ष अगाडि फैलिएको भए त्यति ठूलो स्तरमा क्षति हुँदैन थियो होला तर अहिले यात्राका अनेकौँ सहज माध्यम रहेको खण्डमा यो भाइरस अन्तर्राष्ट्रिय स्तरमा फैलन सक्नेछ ।
हाल वुहानको अन्तर्राष्ट्रिय विमानस्थल न्युयोर्क, पेरिस, सिड्नी, लन्डन लगायत विश्वका मुख्य शहरहरुसँग सिधा सम्पर्कमा छ । त्यसैले पनि यो अनपेक्षित संक्रमणको जोखिम उच्च रहेको बताइएको छ । २००२ र २००३ मा फैलिएका स्वासप्रस्वास सम्बन्धी अति खतरनाक, कोरोना भाइरसकै परिवारबाट रहेको यसअघि चिनियाँ वैज्ञानिकहरुले पहिचान गरेका थिए ।त्यतिबेला यो भाइरसका कारण ७७४ मानिसको मृत्यु भएको थियो भने आठ हजार बढी संक्रमित हुन पुगेका थिए । यो रोगको मुख्य श्रोत पत्ता नलाग्नुले पनि अनुसन्धानमा थप कठिनाइ भइरहेको विश्वविद्हरुको भनाइ छ । कोरोना भाइरसको सबैभन्दा पहिलो लक्षण भनेको ज्वरो र खोकी हो जसलाई धेरैले साधारण रुपमा लिइरहेका हुन्छन् । तर गम्भीर अवस्थामा सास फेर्नमा कठिनाइ हुने र फोक्सो सुन्निने सम्म हुने विश्व स्वास्थ्य संगठनले बताएको हो । १ करोड १० लाखको जनसङ्ख्या रहेको वुहान अहिले उच्च सतर्कतामा छ भने यात्रा सम्बन्धी अनलाइन एजेन्सीहरुले सो शहरको भ्रमणमा रोक लगाइरहेका छन् । यसमा अग्रिम बुकिङ गरिसकेका यात्रुहरुलाई रकम फिर्ता दिइने घोषणा पनि गरिएको हो । एजेन्सी