अष्ट्रेलियाको धुँवाले पूरै पृथ्वीको चक्कर लगाउँदैछ !

जनपत्र
५ माघ २०७६, आईतवार ०७:३०

अष्ट्रेलियामा जारी आगलागीको धुँवाले छिटै पृथ्वीभर चक्कर लगाएर पुनः त्यहीँ फर्किने नासाले जनाएको छ । केही महिनादेखि नै सो धुँवा देशबाट पूर्वतर्फ हुँदै प्यासिफिकतिर फैलिरहेको थियो । नासाका अनुसार नयाँ वर्षको दिनमै यो धुँवा दक्षिण अमेरिका पुगिसकेको थियो जसबेला सो क्षेत्रको आकाश धमिलो भएको थियो र जनवरी ८ सम्ममा यसले आधा पृथ्वीको चक्कर लगाइसकेको नासाको भनाइ छ ।

अष्ट्रेलियाको यस विनाशकारी डढेलोले हालसम्म २८ जनाको ज्यान लिएको छ भने २ हजार भन्दा धेरै घर नष्ट भएका छन् । आगलागीको स्तर यति ठूलो हुनुका पछाडि जलवायु परिवर्तन जिम्मेवार रहेको विज्ञहरुको भनाइ छ । नासाका अनुसार त्यहाँका धुँवाको स्तर यति ठूलो थियो कि यसले असामान्य रुपमा अत्याधिक सङ्ख्यामा ‘पाइरोकुम्युलोनिम्बस’ अर्थात आगोका कारण पर्ने चट्याङ उत्पन्न गराएको हो । यसले पनि धुँवालाई १७।७ किलोमिटर उँचाइको ‘स्ट्राटोस्फ्यर’ सम्म पुर्याएको बताइएको छ । नासाले भनेको छ, “एकपटक स्ट्राटोस्फ्यरमा पुगिसकेपछि धुँवा त्यसको श्रोत भन्दा हजारौँ मील टाढासम्म यात्रा गर्न सक्छ जसले विश्वव्यापी वायुमण्डल प्रभावित गर्दछ । ’

यस्तोमा अहिले नासा उचाइँमा फैलिरहेको धुँवाले केकस्तो असर पारिरहेको छ भन्नेबारे अध्ययन गरिरहेको छ । त्यस्तै यसका कारण पूरै वायुमण्डल तातिएको या चिसिएको भन्ने पनि खोजी गरिरहेको बताएको हो । यसअघि अष्ट्रेलियाका प्रमुख ठूला शहर सिड्नी, मेल्बर्न, क्यानबेरा र एडलेडमा पनि हावाको गुणस्तर अत्यन्तै खतरनाक अवस्थामा पुगेको थियो । अझैपनि देशभरमा १०० भन्दा धेरै आगलागी जारी रहेको बताइएको छ । पछिल्ला केही दिनहरुमा वर्षा लगायत चिसो अवस्था भित्रिएपछि डढेलो केही नियन्त्रणमा ल्याउन सकिएको छ । बिबिसीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*