मध्यरातमा महिलाले डीआइजीलाई चक्कु ताकेपछि…

जनपत्र
१३ पुष २०७६, आईतवार ०६:५६

शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल ‘डीआईजी’सहितको टोली सडक अनुगमनमा थियो । टोलीमा काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

काठमाडौँको कमलादीस्थित गणेशमन्दिर नजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने ओछ्याउनेसहित एक दम्पती सुत्ने तरखरमा थिए । चिसोका कारण खोकी लागेकाले श्रीमती औषधि खाँदै त श्रीमान् मदिरामा लठ्ठ भेटिए । प्रहरी र अभियानकर्मीले उनीहरूलाई फकाउँदै सडकमा नबस्न अनुरोध गरे । महिला आश्रममा जान मानिनन् । उनले मोबाइल उठाउँदै कुनै एक व्यक्तिलाई फोन गरेजस्तो गरेर आफूलाई लैजान लागेको कुरा सुनाइन् ।

नमाने जसरी पनि लैजाने प्रहरीले अडान कसे । महिलाले भनिन्, “भोलि आफ्नै घर जान्छौँ, आज छाडी दिनुस् ।” यसरी उनले अनुरोध गरेको यो तेस्रो पटक थियो । सहज रूपमा उठ्न नमानेपछि प्रहरी र अभियानकर्मीले उठाउने प्रयास गर्दागर्दै उनले सिरानबाट चक्कु निकालिन् । “म पनि इन्सपेक्टरको छोरी हुँ, ल आइज त मेरो नजिक, सबैलाई सिध्याउँछु, पुलिसलाई नि हान्छु,” उनी चक्कु ताक्दै घुम्न थालिन् । अश्लिल शब्दसमेत प्रयोग गरिन् । नजिकै रहेका नायब महानिरीक्षक पोखरेल पनि छक्क परे । एकछिन त सबै अक्क न बक्क भए ।

गाडीमा बसिसकेका श्रीमान्लाई फिर्ता ल्याई दिने शर्त राखेपछि उनले चक्कु थन्याइन् । अभियानकर्मीले चक्कु खोसेपछि बल्ल उनी आश्रम जान तयार भइन् । घर धादिङको नौबिसे बताउने दम्पती मन्दिरमा मागेर बस्ने गरेको निकै लामो समय भइसक्यो । स्थानीयका अनुसार यो दम्पती दिउँसोमा विभिन्न अश्लिल शब्द भनेर मानिसलाई थर्काउने र हल्लाखल्ला गर्ने मध्यका प्रमुख हुन् । शान्ति सुरक्षामै चुनौती हुने गरी बेलाबेलामा यस्ता हर्कत सडकमा हुने गरेका छन् । टेकुस्थित एक घरको सिँढीमा सुतिरहेका एक जमातलाई पनि राति नै उद्धार गरियो । स्थानीयका अनुसार उनीहरू भट्टीमा बसेर मदिरा पिउने अनि हरेक दिन चोकमा झैझगडा गर्दै आएका थिए । यहाँ महिला पुरुष एउटै गँुडा बनाएर सुतिरहेका भेटिए ।

सडकमा यसरी हतियार देखाएर तर्साउन खोज्ने कुटपिट गर्न खोज्ने, टोली देखेपछि भाग्नेहरू धेरै छन् । काठमाडौँको सडकमा असहाय र बेसहाराहरू न्यून रहेपनि यस्ता व्यक्तिहरू अत्यधिक रहेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बताउँछन् । अधिकांश पेशेवर मगन्ते, मदिरा खाएर पल्टिने र दिनभर मजदूरी गरेर राति सडकमा बस्नेहरू छन् । यस्ता व्यक्तिले भने कुनै न कुनै हर्कत देखाउने गरेका अर्का अभियानकर्मी सुमन बर्तौलाको अनुभव छ । डीआईजी पोखरेल यस्ता गतिविधि रोक्न शुरु भएको अभियान सराहनीय रहेकाले कुन ठाउँमा कसरी प्रस्तुत हुनुपर्छ त्यसका लागि प्रहरी तयार रहेको बताए । शुक्रबार राति काठमाडौँका सडकबाट मात्रै ३८ जनाको उद्वार भयो । सबै मदिरा खाएका र पेशेबर मगन्ते मात्रै थिए ।कालीमाटीको सडकमा विगतमा बोरो ओछ्याएर लस्करै ४३ जना सुतेको भेटिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*