अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई ‘रातो झण्डा’ देखाउन सुझाव !
अष्ट्रेलियाका उच्च शिक्षाका विज्ञहरुले नेपालबाट ठूलो संख्यामा अष्ट्रेलिया आउने नेपाली विद्यार्थीको क्रमलाई ‘रातो झण्डा देखाउन’’रोक्न’ संघीय सरकारलाई सुझाव दिएका छन् । उनीहरुले गरिब परिवारका विद्यार्थीलाई रिक्रुट गर्ने र रोजगारदाताहरुले शोषण गरिरहेको तर्क राखेका छन् ।
२०१७ देखि चीन र भारतपछि अष्ट्रेलियामा ओभरसिज विद्यार्थी पठाउने नेपाल तेस्रो मुलुक भएको छ । मलेशिया, भियतनाम र इण्डोनेसिया जस्ता मुलुक भने पछि परेका छन् । गएको अक्टोबर अघिका १२ महिना अवधीको हिसाब गर्दा नेपाल ६५ हजार ७ सय ४६ विद्यार्थी सहित धेरै विद्यार्थी पठाउने तेस्रो मुलुक भएको छ । संघीय सरकारका अनुसार यो तथ्यांक २०१६को भन्दा तीन गुणा भन्दा बढी हो । सन् २०१६मा नेपालबाट त्यहाँ गएका विद्यार्थीको संख्या २१ हजार रहेको थियो ।
सन् २०१८–२०१९को लागि अष्ट्रेलियामा नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीको रकम २दशमलब ६ बिलियन डलर बराबर पुगेको थियो । जबकि अघिल्लो आर्थिक वर्षमा १ दशमलब ६ बिलियन डलर थियो । यस्तै, शिक्षा सम्बन्धी एजेन्ट वा रिक्रुटरहरुको संख्या नेपालमा केही सय भएकोमा अहिले ३ हजार पुगेको संघीय शिक्षा विभागका प्रवक्ताले बताएका छन् । धेरैजसो नेपाली विद्यार्थीले भिक्टोरिया भन्दा पनि न्यू साउथ वेल्स९एनएसडब्ल्यु०मा पढ्न रुचाउने गरेका छन् ।
यसपालि अष्ट्रेलियाका शैक्षिक संस्थामा भर्ना गर्नेमा ४२ हजार ५ सय न्यू साउथ वेल्समा र ११ हजार ३सय भिक्टोरियामा रहेका छन् । धेरैजसो चिनियाँ र भारतीय युनिभर्सिटी डिग्रीका लागि जाने गरेकोमा नेपाली विद्यार्थी भोकेसनल एजुकेसन , तालिम वा अंग्रेजी भाषा कोर्शका लागि सहभागी हुने गरेका छन् । यो प्रबृत्ती खतरनाक भएको उच्च शिक्षा सम्बन्धी विज्ञको भनाई रहेको छ । यसरी सामान्य हिसाबले विद्यार्थीले पढाई खर्च जुटाउन सक्दैनन् । त्यसैले विभिन्न शोषण हुने काममा उनीहरु ट्युसन फि जुटाउन लाग्ने गर्दछन् ।
अष्ट्रेलियन नेशनल युनिभर्सिटीका उच्च शिक्षा नीति सम्बन्धी प्राध्यापक एन्ड्रयु नोर्टन अष्ट्रेलियाको गृह मामिला विभागले नेपाली विद्यार्थीलाई रोक्नुपर्ने बताउँछन् । ‘‘नेपाल त्यति धेरै जनसंख्या भएको मुलुक होइन । त्यहाँ गरिबी पनि छ,’’ उनले भने,‘‘आधारभूत प्रश्न छ कि कसरी यति धेरै मान्छे अष्ट्रेलिया आउने गरी खर्च गर्न सक्छन् र शिक्षाका लागि खर्च गर्न सक्छन् ।’’ प्राध्यापक नोर्टनका अनुसार नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या निकै ठूलो छ, उनीहरुको भीसाको सेकेण्डरी एप्लिकेन्ट पनि हुने गरेको बताउँदै सायद कामका लागि दम्पति नै आउने गरेको हुन सक्ने अनुमान गरेका छन् ।
उनीहरु एकपटक यहाँ आएपछि ज्यादै न्यून ज्यालामा पनि काम गर्न तयार हुने गरेको र विद्यार्थीको भीसा अन्तर्गत उनीहरुले धेरै भन्दा धेरै काम गर्ने गरेको समेत उनले अनुमान गरेका छन् । युनिभर्सिटी अफ सिड्नीका सहप्राध्यापक साल्भाटोर बाबेनेजले अझ विश्वविद्यालय र देशको सरकारले नै गरिब परिवारमाथि ज्यादती गरिरहेको आरोप लगाएका छन् ।
विश्व बैंकको रेकर्डअनुसार नेपालको प्रति व्यक्ति आम्दानी अष्ट्रेलियाको भन्दा ५० गुणा कम र भारतको भन्दा आधा कम भएको समेत उनले चर्चा गरेका छन् । त्यसैले उनीहरुलाई रातो झण्डा देखाउनुपर्ने उनको तर्क छ । ९सन्डे मोर्निङ्ग हेराल्ड०






