नेपाल भ्रमण वर्ष २०२० : उद्घाटन भव्य बनाउन २ करोड रुपैयाँ खर्च गरिँदै

जनपत्र
८ पुष २०७६, मंगलवार ०६:४६

सरकारले नेपाल भ्रमण वर्ष २०२० को पुस १६ गते ‘जनवरी १० मा हुने औपचारिक उद्घाटन कार्यक्रमलाई भव्य बनाउन २ करोड रुपैयाँ खर्च गर्दै छ । दशरथ रंगशालामा हुने उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भ्रमण वर्ष औपचारिक रूपमा शुरू भएको घोषणा हुनेछ ।

उद्घाटन कार्यक्रममा सहभागिताका लागि सरकारले ३१ मुलुकका पर्यटन मन्त्रीलाई आमन्त्रण गरेको छ । यसमध्ये १० मुलुकका पर्यटन मन्त्रीको सहभागित निश्चित भइसकेको पर्यटन मन्त्रालयले बताएको छ ।

भ्रमण वर्ष २०२० लाई भव्य उद्घाटन गरी नेपाल पर्यटकीय हिसाबले सुरक्षित र आर्कषक गन्तव्य हो भन्ने सन्देश प्रवाह गरिने भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यको भनाइ छ । उनले भ्रमण वर्ष उद्घाटन कार्यक्रम हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद ९साग० पछि नेपालमा आयोजना हुने अर्को ठूलो अन्तरराष्ट्रिय स्तरको कार्यक्रम हुने बताए । त्यसका लागि सचिवालयले सम्पूर्ण तयारी गरिरहेको वैद्यले जानकारी दिए ।

उद्घाटन कार्यक्रमको खर्च नेपाल भ्रमण वर्ष सचिवालयलाई सरकारले उपलब्ध गराएको वार्षिक बजेटअन्तर्गत रहेको पर्यटन मन्त्री योगेश भट्टराईले बताए । सरकारले हालै भ्रमण वर्षका लागि ६१ करोड ७४ लाख बजेट स्वीकृत गरेको छ । त्यसमध्ये पर्यटन मन्त्रालयबाट १० करोड र नेपाल पर्यटन बोर्डबाट १० करोड गरी २० करोड रुपैयाँ उपलब्ध भएको भ्रमण वर्ष सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार राजधानीमा दशरथ रंगशालासँगै सातै प्रदेशका मुख्य मन्त्रीहरूले आआफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*