क्यामिला भइन् ‘मिस अमेरिका’
पेसाले बायोकेमिस्ट क्यामिला श्रीयरले ‘मिस अमेरिका २०२०’को ताज पहिरिएकी छन्। उनले ५० प्रतिस्पर्धीलाई हराएर उपाधि जितेकी हुन्। मिस अमेरिकाको अन्तिम चुनौतीमा प्रतियोगीले तिनको लुकेको प्रतिभा देखाउनुपर्ने थियो। ल्याब कोट पहिरिएर स्टेज उक्लिएकी २४ वर्षीया क्यामिलाले निर्णायकहरूलाई रसायनशास्त्रको प्रयोग गरेर देखाइन्।
क्यामिलाले ताजसँगै ५० हजार डलर प्राप्त गरेकी छन्। उनले सो रकम एक औषधोपचार सुरक्षा कार्यक्रममा खर्च गर्ने जनाएकी छन्। क्यामिलासँग विज्ञानका दुई डिग्री छन्। उनी अहिले भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा फार्मेसीबाट विद्यावारिधि शोधरत छिन्।
दुई वर्षपहिले मिस अमेरिका प्रतियोगिताबाट स्विमसुटको पहिरन हटाइएको थियो। साथै, बाहिरी रूपरंगलाई अंक दिने आधार नमान्ने भनिएको थियो। बरु प्रतिस्पर्धीलाई तिनको प्रतिभा र रुचि देखाउने मौका दिन थालियो। आयोजकका अनुसार नियम परिवर्तनपछि मिस अमेरिकामा सहभागी हुने महिलाको संख्यामा उल्लेख्य वृद्धि भएको छ। एजेन्सी






