हथगडी लगाएर पाँच नेपालीलाई अमेरिकाले चाटर्ड विमानमा फर्कायो

जनपत्र
५ पुष २०७६, शनिबार ०६:४४

भारतीय र बँगलादेशीलाई हथगडी लगाएर अपराधीको शैलीमा चाटर्ड विमानबाट फर्काइदिएको दुई हप्ता नबित्दै पाँच नेपालीलाई अमेरिकाले चाटर्ड विमानमा फर्काएको छ । अमेरिकी सरकारले गैरकानुनी रुपमा अमेरिका छिर्नेहरुलाई पक्राउ गरी उनीहरुकै देश फर्काउने क्रम चलाउँदा पाँच नेपालीलाई बुधबार फर्काइदिएको हो ।

हथगडीसहित ती नेपाली बुधबार फर्काइएका थिए । रुकुमका नरेन्द्र रेउले, प्रमोदकुमार पुन मगर, बाग्लुङका देवेन्द्रबहादुर क्षेत्री, दाङका अभिश्वर बुढामगर र नवलपरासीका अर्जुन पौडेल क्षेत्री छन् । फर्काइएका चारैजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राखेर अनुसन्धान गरिरहेको छ ।

केही वर्ष अघि अमेरिकाका लागि दलालमार्फत् प्रस्थान गरेका उनीहरु भारतको मार्ग हुँदै दक्षिण अमेरिकाबाट उत्तर अमेरिकी मुलुक हुँदै अमेरिका पुगेका थिए । एकजना दुबईबाट विभिन्न देशको बाटो हुँदै अमेरिका छिरेका थिए । अमेरिका छिर्नेवित्तिकै पक्राउ परेपछि हिरासतमा राखिए । उनीहरु मुद्दा लडेर बसे । मुद्दा हारेपछि सम्बन्धित देश फर्काइए ।

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि गैरकानुनी आप्रवासीप्रति कडा बन्दै आएका छन् । अहिले अमेरिकाले गैरकानुनी आप्रवासीलाई धमाधम डिपोर्ट गर्न थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*