राष्ट्रियसभाका १९ सदस्यको निर्वाचन माघ ७ मा गर्न प्रस्ताव
निर्वाचन आयोगले फागुन २० गते कार्यकाल सकिने राष्ट्रियसभाका १९ सदस्यको निर्वाचन माघ ७ मा गर्न प्रस्ताव गरेको छ ।राष्ट्रियसभाका ५९ सदस्यमध्ये एक तिहाई अर्थात् १९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिने भएपछि त्यसअघि नै निर्वाचन गर्ने गरी आयोगले माघ ७ गतेलाई प्रस्ताव गरेको हो।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ मा कार्यकाल सकिनुभन्दा कम्तिमा ३५ दिनअघि नै चुनाव गरिसक्नु पर्ने व्यवस्था छ। संघीय संसदले राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचनको व्यवस्था मिलाउन पत्राचार गरेपछि आयोगले प्रस्ताव पठाएको हो।
आयोगले निर्वाचन प्रक्रियाको जानकारी राजनीतिक दल र सरकारलाई पठाउँदैछ। राष्ट्रियसभाका पदावधि सकिने स्थानमा अर्को निर्वाचनका लागि आयोगले यसअघि राजनीतिक दलहरुसँग छलफल गरिसकेको छ। निर्वाचन आयोगले पठाएको प्रस्तावमा छलफल गरेर उपयुक्त ठहर गरेपछि निर्वाचनको मिति घोषणा भने सरकारले गर्नेछ।






