जनताको सेवक बन्छु : विद्या भट्टराई

कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सीर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ की उम्मेदवार विद्या भट्टराईले आफू सामन्तवादको पृष्ठपोषक नभई जनताको सेवक बन्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
चुनावी घरदैलोका क्रममा पोखरा–३३ ठूलढुङ्गा, कसेरी, आपुभञ्ज्याङ, मालागिरी क्षेत्रमा भएको छुट्टाछुट्टै चुनावीसभामा उहाँले जनताको सुख दुःखसँगै रहने बताइन् । समाजका पिछडिएका वर्गलाई आर्थिकरुपमा सवल बनाउन सकेमात्र समृद्धि सम्भव हुने उनको भनाइ थियो ।
स्व. रवीन्द्र अधिकारीका अपूरा सपनालाई पूरा गर्न पार्टीले आफूलाई उम्मेदवार बनाएको स्मरण गर्दै उनले पार्टी र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सफल बनाउन उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औंल्याइन् । राजनीतिक एजेण्डामा तार्किक बहस गरेर देश विकासमा साझेदारी गर्ने राजनीतिक संस्कारको अहिले आवश्यकता भएको भट्टराईले उल्लेख गरिन् । उनले सबैको विचार र अधिकारलाई सम्मान गर्दै आफु राजनीतिमा अघि बढ्ने उल्लेख गरिन् ।