प्रधानमन्त्रीको निजी सचिवालयमा पुरै परिवर्तन, रिमालसहित सबैको ‘राजीनामा’

जनपत्र
२४ कार्तिक २०७६, आईतवार ०६:३०

प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार टिम परिवर्तन हुने भएको छ। केही सल्लाहकारका कारण आफू अप्ठेरोमा परेको प्रधानमन्त्रीले महसुस गरेपछि पुरै टिम फेरिने भएको हो।
प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि प्रमखु सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, सूचना प्रविधि सल्लाहकार अस्गर अली, प्रेस संयोजक चेतन अधिकारी, स्वकीय सचिव इन्द्र भण्डारी र सचिवालयका रामशरण बजगाईंले मंसिर १ गतेदेखि लागु हुनेगरी सामूहिक राजीनामा दिन लागेका हुन्।  स्रोतका अनुसार प्रधानमन्त्रीको सहयोगीका रूपमा स्वकीय सचिव राजेश बज्राचार्य, प्रेस संयोजक चेतन अधिकारी र मेडिकल टिमकी डा. दिव्या सिंह शाह लगायतको टोली यथावत रहने सम्भावना छ। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार सल्लाहकार टिमको बैठक शुक्रबार सरकारी निवास बालुवाटारमै बसेको थियो। सल्लाहकार टिमको साप्ताहिक बैठक प्रत्येक शुक्रबार बस्ने गरेको छ।
उक्त बैठकमा प्रधानमन्त्रीले आमूल परिवर्तनको कुरा सोचेकाले आफूहरू बाहिरिनुपर्ने निचोड उनीहरूले निकालेको बैठकमा सहभागी प्रधानमन्त्रीका एक सल्लाहकारले बताए। ‘बैठकमा प्रधानमन्त्रीले आमूल परिवर्तनको कुरा सोच्नु भएको कुराबारे चर्चा भयो’, नाम उल्लेख नगर्ने शर्तमा ती सदस्यले भने, ‘त्यसैका लागि सहयोग गर्न सचिवालयका सदस्यहरूले राजीनामा दिने निर्णय भएको हो।’ तर, उनीहरूले राजीनामा भने प्रधानमन्त्रीकै निर्देशनमा दिन लागेका हुन्। शुक्रबारको उक्त बैठकपछि सचिवालयका सबै सदस्यहरूले राजीनामा तयार गरिसकेको स्रोतले जनाएको छ। ‘राजीनामा तयार भइसकेको छ। सचिवालयका सबै सदस्यले मंसिर १ बाट लागु हुने गरी राजीनामा दिँदैछौं’, ती सदस्यले भने, ‘प्रधानमन्त्रीले फेरि राख्न चाहेजतिलाई पछि बोलाउन सक्ने पनि सम्भावना छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*