भारतले नयाँ नक्सामा नेपालकाे कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि राखेपछि चर्कियाे सीमा विवाद !
भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो । जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो ।
भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र मि नक्साभित्र समेटेको छ । लामो समयदेखि भारतले अतिक्रमण गरेर राखेको यो क्षेत्र अहिले भारतले औपचारिक रुपमा नै राजनीतिक नक्सामा समेटेको हो । भारत सरकारले ३१ अक्टोबरदेखि अस्तित्वमा आएका दुई भिन्ना भिन्नै केन्द्रशासित प्रदेश ९युनियन टेरिटरी० जम्मू–कश्मीर र लद्दाखसहितको देशको औपचारिक राजनीतिक नक्सा गएको शनिबार सार्वजनिक गर्दा नेपालको भूभाग पनि आफ्नो सीमाभित्र मिसाएको छ ।

भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भूभागसमेत हालेपछि फेरि नेपाल भारत सीमा विवाद फेरि एक पटक सतहमा आएको छ । अहिले भारतले आफ्नो नक्सामा राखेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नेपालले गएको फागुनमा सार्वजनिक गरेको नक्सामा पनि राखेको छ । नापी विभागले तयार पारेको नक्सामा अहिले भारतले राखेको क्षेत्रलाई पनि समेटेको थियो ।

नेपालको नापी विभागले तयार पारेको नक्साअनुसार अहिले आएर भारतले ती क्षेत्र अतिक्रमण गर्दै आफ्नो नक्सामा राखेको हो । यसअघि पनि यो क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै पटक–पटक नेपाली पक्षले विरोध जनाउँदै आएका थिए । ‘लिपुलेक हाम्रै हो’ भन्दै तत्कालीन एमाले सम्बद्ध विद्यार्थी संगठनले लिपुलेक पुगेर झण्डा नै फहराएका थिए ।
दार्चुला जिल्लामा पर्ने लिपुलेकको पहिलो पटक सरकारले वि।सं। २०१८ सालमा जनगणना नै गरेको तथ्यांक छ । त्यो बेला पत्रकार भैरव रिसाल तथ्याङ्क विभागको अधिकृतका रुपमा लिपुलेक पुगेर त्यहाँको जनगणना गर्नुभएको थियो । तर अहिले त्यो क्षेत्रलाई नै भारतले आफ्नो भन्दै राजनीतिक नक्सा सार्वजनिक गरेको हो ।
नेपालको भूभाग आफ्नो भन्दै भारतले नयाँ नक्सामा समेटेपछि भने नेपाली पक्षले विरोध जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेको प्रति विरोध जनाएका छन् । नेपाली भूभाग भारतीय नक्सामा समेटिएकोमा आपत्ति जनाउँदै राप्रपाले प्रधानमन्त्रीसँग तत्काल कुटनीतिक रुपमा समस्याको सम्बोधन गर्न माग गरेको छ । उज्यालोबाट साभार







