रौतहट बम काण्ड : आलमविरुद्ध ३ वटा कसुरमा मुद्दा दायर

सरकारी वकिल कार्यालय रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा सोमबार मुद्दा दर्ता गरेको छ ।
आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिनुभएको छ ।
आलमको मुद्दा ९५ नम्बरमा दर्ता गरिएको छ । समय अभावका कारण थुनछेक बहस भने सोमबार नभई मङ्गलबारबाट मात्रै हुने भएको छ । बाह्र वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो ।
आलमसहितका व्यक्तिले २०६४ चैत २७ गते यमुनामाई गाउँपालिकाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहितका व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको भन्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।