कास्की २ को उपचुनाव : नेकपा उम्मेदवारमा कसरी आयो ‘ट्वीस्ट’?
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त कास्की २ मा आउँदो मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। यसका लागि अहिले उम्मेदवार छनोट लगभग अन्तिम चरणमा छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट जिल्ला कमिटीले अघिल्लो साता एकजनाको मात्रै नाम प्रदेशलाई सिफारिस गरेको थियो।
रवीन्द्रपत्नी विद्या भट्टराईलाई निर्विकल्प उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको केही दिनमै प्रदेश कमिटीबाट नामावली हेरफेर भयो। प्रदेशले विद्यासँगै नेकपाका पुराना नेता सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’को नाम थपेर केन्द्रमा पठाइदियो।
केन्द्र्रबाट तीनजनाको नाम सिफारिस गर्न सर्कुलर पठाएका कारण तीनजनाकै नाम सिफारिस गरिएको प्रदेश कमिटीले जनाएको छ।
यद्यपि, यो निर्णयलाई लिएर अहिले कास्कीमा ठूलै खैलाबैला सुरु भएको छ। केहीले विद्याको त्रिभुवन विश्वविद्यालयबाट राजीनामा स्वीकृत नभएका कारण प्राविधिक समस्या हुने आँकलन गरेर तीनजनाको नाम सिफारिस गरिएको बताएका छन् भने केहीले चाहिँ विद्यालाई उम्मेदवार नबनाउने प्र्रपञ्च रचिएको आँकलन गरेका छन्।
‘विद्याजीको राजीनामा स्वीकृत भएकै छैन। प्र्राविधिक कारणले स्वीकृत भएन भने पछि समस्या आउन सक्छ,’ एक नेताले भने, ‘त्यसैका लागि अहिले नै ३ जनाको नाम पठाइएको हो। ३ जनाको नाम पठाउँदैमा कुनै पहाड खस्दैन।’ सांसदका लागि उम्मेदवारी दिन मनोनयन दर्ता गर्ने समयसम्म सरकारी कर्मचारीबाट राजीनामा स्वीकृत भएको हुनुपर्ने प्रावधान छ।
नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पनि उम्मेदवार हेरफेर गर्न नभई सहभागिता मिलाउन नयाँ नाम थपिएको बताए। ‘उहाँको नाम १ नम्बरमै छ, केन्द्रले दिएको सर्कुलरअनुसार रित पुर्याउनकै लागि भए पनि ३ जनाको नाम पठाउनुपर्ने थियो,’ उनले भने, ‘यहाँको निर्विकल्प उम्मेदवार विद्याजी नै हो। जनभावना पनि यही हो, हाम्रो निर्णय पनि यही हो।’
एकल उम्मेदवार सिफारिस भएकी भट्टराईले आफ्नै जोडबलमा अरु नाम थप्न आग्रह गरेको बताइन्। ‘मैले नै केन्द्रको निर्णय अनुसार सिफारिस गरिदिनु भनेको हुँ। नाम बढाउँदैमा उम्मेदवार परिवर्तन हुने भन्ने छैन,’ उनले भनिन्, ‘जिल्लाले गरेकै निर्णय अनुसार प्रदेशले १ नम्बरमा मेरो नाम राखेको छ। केन्द्रले पनि सोहीअनुसार निर्णय गर्नेमा ढुक्क छु।’
नेपाली कांग्रेसबाट १६ जनाको नाम जिल्लाबाट सिफारिस गरिएको छ। कांग्रेसले रवीन्द्रसँग पराजीत भएका देवराज चालिसेलाई नै उम्मेदवार बनाउने सम्भावना बुझिएको छ। यद्यपि, सोभियतबहादुर अधिकारी, वीरेन्द्रनारायण विजुक्छे र खेमराज पौडेल पनि उम्मेदवारको दौडमा छन्।







