जनताले अनुभूति हुनेगरी काम नगरे परिवर्तनकारी शक्तिहरु अप्ठ्यारोमा पर्न सक्छन् : ज्ञानेन्द्र शाह

जनपत्र
१३ कार्तिक २०७६, बुधबार ०७:००

पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अप्ठयारोमा पर्न सक्ने बताएका छन् ।पूर्वराजा शाहले प्रगति र विकास कुनै पनि परिवर्तनपछिको महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै सो कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्ने गरी नभए परिवर्तनकर्ताहरु आफैं अप्ठयारोमा पर्ने बताए ।

मंगलबार काठमाडौंको कमलादीमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हालबाट भाइटीका र प्रसाद ग्रहण गरेपछि उनले संचारकर्मीमाझ परिवर्तनकर्ताहरुले प्रगति र विकासको कुरालाई मनन गरेनन् र बुझेनन् भने त्यस्तो परिवर्तनको कुनै अर्थ नहुने पनि स्पष्ट पारे ।

‘हेर्नुस् जुनसुकै परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुुनुपर्दछ, एउटा प्रगति अर्को विकास,’ पूर्वराजा शाहको भनाई थियो, ‘यी दुईटा कुरालाई मनन् गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन, र परिवर्तनकर्ताहरुलाई अप्ठयारो पर्न सक्छ ।’

पूर्व राजा शाहले त्यस अवसरमा आज भाईटीकाको दिन कसैको कुरा काट्ने वा खुट्टा तान्ने दिन नभएको उल्लेख गर्दै धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् भनि शुभकामना पनि व्यक्त गरे ।

पूर्वराजा शाहले आफूलाई लक्ष्मी पूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना भएको स्मरण गराउँदै उहाँले भने झैं ‘अरुको सुःखका लागि आफैलाई मेटाउन सक्ने’ शक्ति सबैलाई प्राप्त भएको हेर्न चाहेको पनि बताए । ‘सबै नेपालीले सुःख र शान्तिका साथ बस्न पाउन, तिहारको अवसरमा मेरा यही शुभकामना छ,’पूर्वराजा शाहको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*