एसियाली एमेच्योर चेस काठमाण्डौमा हुने –अध्यक्ष एकालाल श्रेष्ठ

काठमाडौँ — नेपाल बुद्धिचाल संघले मदन भण्डारी स्पोर्ट्स एकेडेमीसँग मिलेर एसियाली एमेच्योर चेस प्रतियोगिता कात्तिक तेस्रो साता काठमाडौंमा आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय बुद्धिचाल फेडेरेसनको आधिकारिक मान्यता पाएकोमध्ये नेपालमा हुने यो ठूलो प्रतियोगिता नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले वताउनुभयो ।
संघले शुक्रबार पत्रकार सम्मेलन गरी कात्तिक २२ देखि २९ सम्म काठमाडौंको पार्क भिलेज रिसोर्टमा हुने प्रतियोगिताको तयारी सुरु गरिएको जनाएको छ । प्रतियोगितालाई मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिप नाम दिइएको छ । प्रतियोगितालाई काठमाडौं महानगरपालिकाले पनि सहयोग गरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले नेपालमा हुन लागेको ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितालाई सबै मिलेर सफल पार्ने दायित्व वहन गरी सहकार्य गरेको बताए । ‘हामीसँगको सहकार्य आर्थिक स्रोतको सुनिश्चितता मात्र होइन खेलक्षेत्रमार्फत समृद्धिको सपना साकार पार्न गरिएको प्रयास पनि हो,’ पूर्वसांसद समेत रहेका अध्यक्ष श्रेष्ठले भने ।
प्रतियोगितामा एसियाका ३० देशले सहभागिता जनाउने अनुमान गरिएको छ । १ सयभन्दा बढी खेलाडीले भाग लिनेछन् । नेपालबाट महिला र पुरुषतर्फका राष्ट्रिय च्याम्पियन क्रमशस् सुजना लोहनी र पुरुषोत्तम चौलागाईंले भाग लिनेछन् । अन्य प्रतिभाशाली नेपाली खेलाडीलाई अधिकतम सहभागिता गराइने संघले जनाएको छ । आधिकारिक खेलाडीको सम्पूर्ण खर्च संघले बेहोर्ने छ ।
स्विस लिग प्रणालीअन्तर्गत ९ चरणसम्म चल्ने प्रतियोगितामा क्लासिकल र ब्लिज विधामा खेल हुनेछ । प्रतियोगितामा २१ सयभन्दा कम रेटिङ भएका फिडे मास्टर उपाधि पाएकाले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा मास्टरको उपाधि नपाएले उपाधि जितेमा क्यान्डिडेट मास्टरको मान्यता पाउनेछन् । करिब १५ लाख पुरस्कार राशिको प्रतियोगितामा विभिन्न विधामा ३७ खेलाडीले पुरस्कार पाउने श्रेष्ठले वताउनुभयो ।
प्रतियोगिता गर्न २ करोड ३१ लाख खर्च लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये एसियाली बुद्धिचाल फेडेरेसनले १० हजार डलर सहयोग गर्नेछ । प्रतियोगिताका लागि नेपालसहित भारत, चीन र अफगानिस्तानका अन्तर्राष्ट्रिय आर्बिटरले निर्णायकको भूमिका निभाउने उहाँको भनाई छ ।