मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली
नेपाल सुरुङमार्गबाट प्रवेश गर्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि अब धमाधम सुरुङमार्ग निर्माणका चरणमा प्रवेश हुन थालेको छ । नेपालकै पहिलो सुरुङमार्गको निर्माणको औपचारिक शिलन्यास सोमबारबाट शुरु भएको हो ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले चित्लाङबासीलाई खुसीको खवर सुनाए । उनले काठमाडौंको थानकोटबाट मकवानपुरको चित्लाङ पाँच मिनेटमा पुग्ने गरी बाटो बनाउन लागिएको जानकारी गराए । उनले थानकोटबाट चित्लाङसम्म सुरूङ निर्माणको सर्वे भइरहेको बताए ।
‘अलिकति समय लाग्छ। पाँच मिनेटमा थानकोटबाट चित्लाङ पुगिनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘सर्वे भइराखेको छ ।’ अहिले थानकोटबाट चित्लाङ पुग्न पन्ध्र किलोमिटरको उकालो आरोलो बाटोका लागि एक घण्टा समय लाग्ने गरेको छ ।
धानमन्त्री केपी शर्मा ओलीले सोमबार नागढुंगा-सिस्ने खोला सुरुङ मार्गको शिलान्यास गर्नुभएको छ ।
सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सुरुङमार्गको चन्द्रागिरि नगरपालिका १ को टोटेपाखामा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो । उहाँले शिलापत्रको अनावरण पनि गर्नुभयो ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को दशमलव ०१ प्रतिशत सहुलियत ऋण सहयोगमा सुरु गरिएको सुरुङ मार्गका लागि २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसका लागि जाइकाले १६ अर्ब रुपैयाँ सहयोग गर्ने र ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने जनाइएको छ ।
प्रवेश मार्गसहित ५ दशमलव ५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुंगा सुरुङ मार्ग निर्माण आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताउनुभयो ।
झण्डै छ अर्ब रुपैयाँ स्थानीय पीडितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । चन्द्रागिरि नगरपालिकाको वडा नं १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भैरहेको छ । अहिलेसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ । चार वर्षभित्र सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुने गरी पहिलो पटक निर्माण गर्न लागिएको सुरुङ मार्गमा दुइटा साना ‘फ्लाइ ओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताउनुभयो । सुरुङ मार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाइ ओभर’ बनाउन लागिएको हो । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाइ ओभर’ पनि नेपालकै पहिलो हो ।
सुरुङ मार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । सुरुङ मार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण गरिने भएको छ । यही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ ।