पहिचान स्थापित गर्न खेलकुद महत्वपुर्ण–मुख्यमन्त्री पौडेल

जनपत्र
२ कार्तिक २०७६, शनिबार ०७:०९

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न खेलकुद महत्वपुर्ण माध्यम भएको बताउनुभएको छ । मकवानपुरको बकैया गाउँपालिकामा शुक्रबारबाट सुरु भएको पहिलो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता–२०७६ को उद्घाटन गर्दै उहाँले खेलले एकता र अनुशासनको सन्देश दिनुका साथै अन्तराष्ट्रिय स्तरमा देशलाई पहिचान दिलाउन सहज रहेको बताउनुभएको हो ।

खेलले विश्वमा नेपाल र नेपालीको पहिचान स्थापित गर्न सकेको भन्दै मुख्यमन्त्री पौडेलले खेलकुद क्षेत्रमा सरकारले समेत ध्यान दिएको बताउनुभयो । वर्तमान सरकार सुखी नेपाली र समृद्ध नेपाल बनाउने लक्ष्य सहित अगाडि बढेको भन्दै मुख्यमन्त्री पौडेलले अब सिमान्तकृत जातजातिहरू पनि अगाडि आउनु पर्ने तर्क गर्नुभएको थियो । माझी समुदायका अगुवाहरु संसददेखि विश्वविद्यालयसम्म भेटिन थालेको भन्दै उहाँले अगुवामात्र हैन अब सबै सिमान्तकृत जातजाति पनि अगाडि आउनु पर्ने बताउनुभयो । उहाँले अवसर पाउने अगाडी बढ्दै गएको तर पछाडी परेकाहरु सधैं पछाडी नै परेको भन्दै पछाडी परेकाहरुलाई अगाडी ल्याउने बतावरण तयार पार्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा अर्थ तथा विकास समितिका सभापति कृष्णप्रसाद दाहालले माझी समुदायबाट नेपाल मै पहिलो चोटी मकवानपुरमा गोल्डकप गराउन सफल भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अब माझी समुदायहरु खोलामा मात्रै सीमित नभई समाजको अग्रगामी भूमिकामा हुनुपर्ने बताउनुभयो ।

त्यस्तै उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतले अल्पसंख्यक माझी समुदायले यति ठुलो प्रतियोगिता संचालन गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले अल्पसंख्यक र सिमान्तकृत समुदायको उत्थानकालागि यस्ता प्रतियोगिताले महत्व दिने बताउनुभएको छ । प्रमुख खुलालले मकवानपुरमा पहिलो पटक भएको प्रतियोगिताले निरन्तरता पाओस भन्ने शुभकामना समेत व्यक्त गर्नुभएको छ । कार्यक्रममा ३ नम्बर प्रदेशसभा सदस्यहरु बुद्धिमान माझी, रीता माझी, प्रेमबहादुर पुलामी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

माझी उत्थान समाज मकवानपुरको आयोजनामा नेपाल मै पहिलो पटक मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीस्थित खेल मैदानमा भएको प्रतियोगितामा १७ टिमको सहभागितामा रहेको छ । प्रतियोगितामा विशेष गरी माझी जातिको बसोबास रहेको प्रदेश १, २ र ३ तथा पश्चिमका जिल्लाहरूबाट समेत खेलाडीहरु सहभागि रहेको आयोजकले जनाएको छ । करबि २१ लख लागत लाग्ने अनुमान गरिएको प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छ ।

त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीले ५÷५ हजार रुपैयाँ नगद प्राप्त आायोजकले जनायो । ’राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल र पहिचानका लागि खेल’ भन्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको उद्घाटन खेल मकवानपुर माझी उत्थान समूह र बार माझी उत्थान समूह बीच भएको थियो । उद्घाटन समारोहमा माझी समुदायका विभिन्न गीत, नृत्य समेत प्रस्तुत गरिएको थियो । साझा सन्देशबाट । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*