आज नेपाल–चीन द्विपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डलको बैठक, एक दर्जन सम्झौतामा हस्ताक्षर हुने
नेपाल–चीन द्विपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डलको बैठक आज काठमाडौंमा बस्दैछ। बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् भने चीनको नेतृत्व चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्नेछन्।
बैठक ११ बजे सुरु हुने जनाइएको छ। बैठकमा नेपाल–चीन बहुआयामिक सम्बन्धका सबै पक्षहरूमा छलफल हुनेछ। विगतमा नेपाल र चीनबीच भएका सम्झौता र तीनको कार्यान्वयनका सम्बन्धमा पनि दुई मुलुकका नेताबीच छलफल हुने जनाइएको छ।
बैठकमा केही सम्झौताहरूलाई अन्तिम रूप दिई तीनमा हस्ताक्षरसमेत गरिने कार्यक्रम रहेको छ। बैठकपछि प्रधानमन्त्री ओली र राष्ट्रपति सीको उपस्थितिमा करिब एक दर्जन सम्झौता तथा समझदारीपत्र (एमओयु)मा दुई मुलुकका सम्बन्धित अधिकारीले हस्ताक्षर गर्ने जनाइएको छ।
केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), नेपाल–चीन सुपुर्दगी सन्धि, काठमाडौंको टोखाबाट नुवाकोटको छहरे निस्कने सुरुङमार्ग, रसुवागढी–काठमाडौं सडक, किमाथाङ्का–हिले सडक, दिपायल–दक्षिण चीन जोड्ने सडक, टोखा–विदुर–नुवाकोट सडक, गल्छी–रसुवागढी–केरुङ विद्युत् प्रसारण लाइन, ७ सय ६२ मेगावाट क्षमताको तमोर हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्ट, फुकाट–कर्णाली हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्ट, मदन भण्डारी विश्वविद्यालय निर्माण, औद्योगिक पार्क निर्माणलगायत विषयमा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुनेछ।
नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपतिले काठमाडौं आएकै दिन शनिबार केरुङ–काठामडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन र काठमाडौं–केरुङ सुरङमार्गको काम अघि बढाउने प्रतिबद्धता जनाइसकेका छन्। उनले शनिबार नै नेपाललाई सन् २०२० देखि २०२२ सम्म दुई वर्षको अवधिमा ५६ अर्ब रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणासमेत गरेका थिए।
नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटघाटको सिलसिलालाई आइतबार पनि निरन्तरता दिने भएका छन् ।
शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका सीले आइतबार नेकपा नेताहरूसँग भलाकुसारी गर्दैछन् । नेकपाका एक नेताका अनुसार, नेकपाका सचिवालय सदस्यहरूले संयुक्त रूपमा सीसँग भेटवार्ता गर्ने तय भएको छ । प्रचण्ड नेतृत्वमा हुने यो भेटवार्ता बिहान १०ः३० बजेका लागि तोकिएको छ ।
नेकपाका सचिवालय सदस्यहरूसँगको संयुक्त भेटलगत्तै प्रचण्डले वान–अन–वान भेटवार्ता गर्ने बताइएको छ ।
नेकपा नेतासँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ । द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ । यो क्रम करिब १ घण्टासम्म चल्ने बताइएको छ ।
द्विपक्षीय वार्तापछि सी होटल फर्कने र दिउँसो १ बजे विमानस्थलबाट स्वदेश प्रस्थान गर्ने सेड्युल छ ।






