राष्ट्रपतिद्वयबीच भेटवार्ता सम्पन्न, चीनले दुईवर्षमा नेपाललाई ५६ अर्ब रुपैयाँ सहयोग दिने

जनपत्र
२५ आश्विन २०७६, शनिबार २०:४६

नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता सकिएको छ। आज साँझ शितलनिवासमा दुईदेशका राष्ट्रपतिबीच भेटवार्ता भएको थियो।

समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणका आएका राष्ट्रपति सी शिष्टाचार भेटका लागि शितलनिवास पुगेका थिए। दुई देशका राष्ट्रपतिबीच करिब ४० मिनेट कुराकानी भएको बताइएको छ। उनीहरुबीच दुई देशबीचको आपसी सम्बन्ध तथा नेपाल–चीन सहयोग आदानप्रदान लगायतका विषयमा कुराकानी भएको थियो।

भेटवार्तापछि चिनियाँ राष्ट्रपति सी सोल्टी होटल फर्किएका छन्। उनी सोल्टी होटलमै हुने रात्रीभोजमा सहभागी हुदैछन्। राष्ट्रपति भण्डारीले समकक्षी सी को सम्मानमा रात्रीभोजको आयोजना गरेकी हुन्।

शनिबार अपरान्ह नेपाल आइपुगेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रास्ट्रपति भन्डारीले स्वागत गरेकी थिइन्।  सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधामन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, मन्त्रीहरु, उच्चपदस्थ सरकारी अधिकारीहरु विमानस्थल पुगेका थिए।

राष्ट्रपति सी लाई विमानस्थलमा पन्चकन्याबाट समेत स्वागत गरिएको थियो भने नेपाली सेनाले उनको सम्मानमा गार्ड अफ अनर प्रदान गरेको थियो। विमानस्थलबाट सोल्टी होटल पुगेका सी त्यहाँ केहिबेर आराम गरेर शीतलनिवास गएका थिए।

चिनियाँ राष्ट्रपति सी चिनफिङले दुई वर्षको अवधिमा चीनले नेपाललाई ५६ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्।

नेपालको दुईदिने राजकीय भ्रमणमा रहेको राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारीसँग शनिबार साँझ शीतलनिवासमा भएको भेटका क्रममा सो घोषणा गरेका हुन्।

चिनियाँ राष्ट्रपति सीले भेटका क्रममा सन् २०२० देखि २०२२ सम्मको अवधिमा उक्त आर्थिक सहायता नेपाललाई उपलब्ध गराउने बताए। चिनियाँ राष्ट्रपति सीले भण्डारीसँगको भेटका क्रममा विमानस्थलमा आफूलाई गरिएको स्वागतप्रति आभार प्रकट गरे। विमानस्थलमा आफूलाई गरिएको स्वागत अभूतपूर्व रहेको भन्दै उनले यसबाट चिनियाँ जनताप्रति नेपाली जनताको सद्भाव कस्तो छ भन्ने अनुमान गर्न सकिने उल्लेख गरे।

भेटका क्रममा राष्ट्रपति सीले चीन नेपालको विकासमा सधै सहयोग गर्न तयार रहेको प्रतिबद्धता दोहोर्‍याए। भेटवार्ताका क्रममा राष्ट्रपति सीले नेपालले लिएको ‘एक चीन नीति’को प्रशंसा गरेका थिए।

जवाफमा राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिप्रति अडिग रहेको बताइन्। उनले नेपालको विकासका लागि चीनले पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद दिएकी थिइन्। नेपाल न्यूजबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*