बागमतीको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको कडाइ, निर्देशन कार्यान्वयनको चासो
हेटौंडा । बागमती प्रदेशसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले आफ्ना निर्देशन, सुझाव तथा निर्णयहरूको कार्यान्वयन अवस्थाको समग्र समीक्षा गर्ने निर्णय गरेको छ । समितिको ४५ औँ बैठकले सम्बन्धित मन्त्रालय तथा मातहतका निकायलाई समितिका निर्देशन कार्यान्वयनसम्बन्धी प्रगति विवरण सात दिनभित्र पेश गर्न निर्देशन दिएको हो ।
समितिका सभापति ठाकुर प्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले निर्देशन कार्यान्वयनमा देखिएका बाधा, व्यवधान तथा समस्याका विषयमा स्पष्ट कारण, समाधानका उपाय र अपनाइएका प्रयाससमेत खुलाएर समिति समक्ष विवरण पेश गर्न आग्रह गरेको छ । साथै मन्त्रालय तथा अन्तर्गतका निकायबाट सञ्चालन भएका प्रमुख आयोजना, परियोजना तथा कार्यक्रमको अवस्था, लगानी रकम, सम्पन्न भएरनभएको अवस्था र प्राप्त प्रतिफलसमेत उल्लेख गरी सात दिनभित्र विवरण बुझाउन निर्देशन दिइएको समितिका सचिव तथा बागमती प्रदेशसभाका प्रवक्ता प्रकाश चापागाईले बताए ।
समितिले आगामी जेठ ६, ७ र ८ गते गर्ने स्थलगत अनुगमनलाई प्रभावकारी, परिणाममुखी र वस्तुगत मूल्यांकनमा आधारित बनाउने निर्णयसमेत गरेको छ । अनुगमनमार्फत उत्तरदायित्व र गुणस्तर सुनिश्चितता, सेवा प्रवाहमा सुधार, उपलब्धि मापन, दिगोपनाको परीक्षण, सुशासन अभिवृद्धि तथा पारदर्शिता प्रवर्द्धन गर्ने उद्देश्य राखिएको समितिले जनाएको छ । उक्त अनुगमनलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सहजीकरण गर्न समितिले सचिवालयलाई निर्देशन दिएको छ ।








