मकवानपुरको इन्द्रसरोवर ताल र मार्खु क्षेत्रमा सरसफाइ
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–१ स्थित इन्द्रसरोवर ताल आसपास तथा मार्खु पर्यटकीय क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय संघसंस्था तथा कर्मचारीहरूको संयुक्त सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो ।
सरसफाइ कार्यक्रममा मत्स्य विकास केन्द्रका प्रमुख भिमदत्त भट्टसहित सम्पूर्ण कर्मचारी सहभागी भएका थिए । त्यसैगरी भैरव गण चनवनका सेनानी मिलनकुमार जोशी तथा सह–सेनानी फत्त नारायण श्रेष्ठको कमाण्डमा १५५ जनाको टोली परिचालन गरिएको थियो ।
यस्तै श्री नं। ३ राजदल गण क्युवेक ब्याट्री कुलेखानी का सह–सेनानी अर्जुन परियारको कमाण्डमा ३५ जनाको टोली खटिएको थियो भने शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस कुलेखानी का सशस्त्र प्रहरी निरीक्षक युवराज कार्कीको कमाण्डमा ३५ जनाको टोली सरसफाइमा सहभागी भएको थियो ।

कार्यक्रममा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–१ का कर्मचारी, नेपाल विद्युत प्राधिकरण अन्तर्गत प्रथम जलविद्युत आयोजना मार्खु शाखाका कर्मचारी, पालुङ वितरण केन्द्र फ्युज शाखा मार्खुका कर्मचारी, अस्थायी प्रहरी बिट मार्खुका इन्चार्ज प्रहरी सहायक निरीक्षक दिपेश यादव, इन्द्रसरोवर मत्स्य व्यवसायिक संघ तथा इन्द्रसरोवर डुंगा संघ का पदाधिकारीहरू पनि सहभागी भएका थिए ।
त्यसैगरी मार्खुस्थित स्वास्थ्य चौकीका सम्पूर्ण कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको कार्यक्रममा करिब ३०० जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
मत्स्य विकास केन्द्रका अनुसार यो कार्यक्रम केन्द्रको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत नभईगत संघीय सरकारको सरसफाइ सप्ताह कार्यक्रम अन्तरगत बजेटबिनै सञ्चालन गरिएको हो ।
पर्यटकीय क्षेत्रलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित सञ्चालन गरिएको सरसफाइ अभियानलाई निरन्तरता दिने निर्णयसमेत गरिएको छ । केन्द्रले आगामी दिनमा प्रत्येक शुक्रबार कार्यालय परिसर तथा इन्द्रसरोवर ताल परिसरमा नियमित सरसफाइ गतिविधि सञ्चालन गर्ने जनाएको छ ।








