महराको बयान दशैंपछि मात्र, आरोप पुष्टि भए ५ वर्षसम्म कैद
देशबासी दशैंमा रमाइरहेका बेला निवर्तमान सभामुख कृष्णबहादुर महरा भने प्रहरी हिरासतमा पुगेका छन् । पूर्वगृहमन्त्री समेत रहेका महरालाई प्रहरीले संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा आइतबार साँझ सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । पीडित महिलाले बानेश्वर प्रहरी वृत्तमा उजुरी दिएपनि प्रहरी प्रधान कार्यालयको निर्देशनमा सिंहदरबारमा राखिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसारमहराको बयान अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्रै सुरु हुनेछ । ‘दशैंपछि अदालत खुल्नेछ र म्याद थप गर्नेछौं’, उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि सरकारी वकिलको रोहबरमा बयान लिनेछौं ।’ अदालतको दशैं विदा २६ गतेसम्म छ । तर पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते पनि अदालतमा विदा दिइएको छ । अर्को सोमबार अदालत तथा सरकारी वकिलको कार्यालय खुलेपछि अदालतमा हाजिर लगाउने, बयान लिने काम सुरु हुनेछ । घटनाको मुद्दा भने काठमाडौं प्रहरी परिसर, टेकुबाटै चल्नेछ । ‘परिसरले मुद्दा टेकओभर गरेको हो’, एसएसपी सुवेदीले भने, ‘यहाँ प्रहरीको अस्थायी बसाई भएकाले सिंहदरबारमै राखिएको हो ।’
महरामाथि १२ असोजमा संसद सचिवालयकी कर्मचारीलाई उनकै कोठामा गएर बलात्कार प्रयास गरेको आरोप लागेको छ । यो आरोपसँगै उनको सभामुख पद त गयो नै, प्रहरी हिरासतमा आइपुगेका छन् । यो आरोप पुष्टि भएमा उनलाई तीन वर्ष ६ महिना वा ५ वर्ष कैद सजाय समेत हुनेछ । प्रहरीकाअनुसार उनीविरुद्ध जबरजस्तीकरणी उद्योगमा मुद्दा चलाइनेछ । मुलुकी अपराध संहिताले कुनै पनि कसूरको उद्योग पुष्टि भए तोकिएभन्दा आधा सजाय हुने व्यवस्था गरेको छ । संहिताको परिच्छेद १८ मा रहेको जबरजस्तीकरणी सम्बन्धी कसूर सम्बन्धी दफाको उपदफा ३ ‘ङ’ मा पीडित १८ वर्ष वा सोभन्दा बढी उमेरको महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनसक्ने उल्लेख गरिएको छ । महरा प्रकरणमा पीडितको उमेर १८ वर्षभन्दा बढी भएकाले यो व्यवस्था लागू हुनेछ । तर, सात वा १० वर्ष कुनलाई आधार मान्ने भन्ने विषय चाहिँ अपराधको प्रकृति हेरेर न्यायाधीशले तोक्नेछ ।






