शारदा माविको स्वर्ण महोत्सव सकियो, बिभिन्न क्षेत्रका व्यक्तित्वहरु सम्मानित
हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ धादिङमा रहेको शारदा माध्यमिक बिद्यालयको स्वर्ण महोत्सवका बिबिध कार्यक्रमको आजबाट समापन गरिएको छ । महोत्सवको समापनका अवसरमा बिद्यालयको स्थापना कालदेखि हाल सम्म योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको छ ।
बिद्यालय स्थापना भएको ५० वर्षको अवधिमा शारदा माविमा अध्ययन गरेर डाक्टरको उपाधी पाउन सफल हुनु भएका डाक्टर कृष्ण धिताल, डाक्टर स्याम बहादुर छत्कुली र डाक्टर सुमार्गि हुमागाईलाई दोसल्लाह ओढाएर सम्मान गरिएको थियो ।
यसैगरी बिद्यालय स्थापना देखि हाल सम्मका बिद्यालय व्यावस्थापन समितिका पूर्व अध्यक्षहरु, बिभिन्न क्षेत्रमा काम गर्दै आउनु भएका पूर्व बिद्यार्थीहरु, बिद्यालयको लागि देउसी भैलोमा र अरु समयमा पनि नगद तथा जिन्सी सहयोग गर्ने अभिभावक तथा पूर्व विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । बिद्यालयको स्वर्ण महोत्सवका अवसरमा भएका प्रतियोगिताका प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने बिजयीहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
बागमती प्रदेश सभाका सदस्य तथा पूर्व मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष युवराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै विगत देखि वर्तमान सम्म बिद्यालयको अवस्था र योगदानका विषयमा बिद्यालयका प्रधानध्यापक इन्द्र बहादुर कार्कीले जानकारी गराउनु भएको थियो । कार्यक्रममा बिद्यालय स्थापना देखि हाल सम्मको अवस्था झल्कने बृत्तचित्र तयार पारेर देखाइएको थियो भने बिद्यालयले तयार पारेको स्मारीकाको विमोचन गरिएको थियो ।








