गत आवमा बागमती प्रदेशको खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र ७.५ प्रतिशतले घटेको छ । यस्ता बालीको उत्पादन ६.५ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ । प्रमुख खाद्यान्न बालीमध्ये समीक्षा वर्षमा कोदो उत्पादन ५.२ प्रतिशतले बढेको छ भने सोही अवधिमा धान १.१, मकै ५.०, फापर ५.१, गहुँ १८.५ र जौ उत्पादन ३२.६ प्रतिशतले घटेको छ ।
गत आवमा तरकारी तथा बागवानीको उत्पादन १६.२ प्रतिशतले बढेको छ । पशुजन्य अन्तर्गत दूध १.२ र मासु उत्पादन २.९ प्रतिशतले घटेको छ । अण्डा उत्पादन २.७ प्रतिशतले बढेको केन्द्रीय बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । गत आवमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले ३.७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन्।
गत आर्थिक वर्षमा यस प्रदेशका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३८.७ प्रतिशत छ । अघिल्लो आवमा उद्योगको क्षमता उपयोग औसतमा ४४.३ प्रतिशत रहेको थियो ।
गत आवमा चाउचाउ उद्योगको क्षमता उपयोग सबैभन्दा बढी छ भने लत्ता कपडा मध्येको गार्मेन्ट उद्योगको क्षमता उपयोग सबैभन्दा कम छ । बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको ३६.४ प्रतिशत छ ।
बैंक तथा वित्तीय संस्थाले गत आवमा संकलन गरेको कुल निक्षेप २०८१ असार मसान्तको तुलनामा १०.८४ प्रतिशतले र कर्जा प्रवाह ११.३५ प्रतिशतले वृद्धि भएको छ । २०८२ असार मसान्तसम्म कर्जा निक्षेप अनुपात औसतमा ६९.२७ प्रतिशत रहेको छ । गत आवमा बागमती प्रदेशमा यातायात सवारी दर्ताको सङ्ख्या ४५.२ प्रतिशतले बढेको छ ।
गत आवमा बागमती प्रदेशमा ९०.४२ किलोमिटर नयाँ सडक निर्माण भएको छ भने ग्राभेल र कालोपत्रे सडकको स्तरोन्नति क्रमशः १४८.९३ र ३६२.२३ किलोमिटर छ । सोही वर्षमा ३७ वटा सडक पुल र ७ वटा झोलुंगे पुल निर्माण भएका छन् । पछिल्लो तीन आर्थिक वर्षमा यस प्रदेशमा कुल १२३५.४८ किलोमिटर नयाँ सडक निर्माण भएको छ।
आव २०८१/८२ मा जम्मा १ लाख ३७ हजार ६ सय जना वैदेशिक रोजगारीमा गएका छन् जुन कुल श्रम स्वीकृतिको १६.३९ प्रतिशत रहेको छ । तथ्यांकअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आ.व. २०८१/८२ मा ७ हजार ८ सय ८९ जनाले रोजगारी प्राप्त गरेका छन् ।
गत आवमा बागमती प्रदेश सरकारले कुल ६४ अर्ब ५४ करोड बजेट विनियोजन गरेकोमा कुल विनियोजनको ७३.७९ प्रतिशत अर्थात् ४७ अर्ब ६२ करोड खर्च गरेको छ । २०८२ असार मसान्तसम्म २८ अर्ब ३५ करोड राजस्व संकलन भएको छ ।







