बागमतीका मुख्यमन्त्री बानियाँको निर्देशनः सार्वजनिक खर्च कटौती गर्दै दक्ष र पारदर्शी प्रशासन निर्माणमा जोड

जनपत्र
३० श्रावण २०८२, बिहीबार ०७:४९

हेटौँडा, २९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय र सरकारी निकायहरूको अनावश्यक खर्च कटौती गरी आर्थिक सुशासन कायम गर्न निर्देशन दिएका छन्।

बुधबार मन्त्रालयका सचिवहरूसँग भएको बैठकमा मुख्यमन्त्री बानियाँले मन्त्रालय सञ्चालनमा दक्षता, पारदर्शिता र समयमै सेवा वितरणलाई मुख्य एजेन्डा बनाएर काम गर्नुपर्नेमा जोड दिए। उनले कार्यसम्पादनमा गुणस्तर सुधार गर्दै ‘काम नगरी तलब खाने’ प्रवृत्ति अन्त्य गर्न र कर्मचारीको कार्यक्षमता वृद्धिमा विशेष ध्यान दिन आग्रह गरे।

सरकारका महत्त्वपूर्ण योजनाहरू समयमै सम्पन्न गर्ने, कार्यव्यवस्था र जिम्मेवारीमा ढिलाइ नगर्ने तथा एकताबद्ध रूपमा कार्य सम्पादन गर्न सबैलाई आह्वान गर्दै उनले सरकारी साधन–स्रोतको दुरुपयोग रोक्न स्पष्ट निर्देशन दिए।

बैठकमा नीति, निर्णय र कार्यान्वयनलाई प्रशासनको तीन आधार स्तम्भका रूपमा स्थापित गर्दै नीति स्पष्ट, निर्देशन छिटो र सेवा समयमै उपलब्ध गराउने प्रणालीलाई मजबुत बनाउनुपर्नेमा मुख्यमन्त्री बानियाँको भनाइ थियो। साथै, चाँडो नतिजा दिने र समयमै न्याय सुनिश्चित गर्ने कार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता उनले व्यक्त गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*