एमाले बागमतीको संसदीय दलको बैठक, काँग्रेसको संस्थागत निर्णयलाई मान्यता दिइने
हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठक आज हेटौंडामा बसेको छ । संसदीय दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा बसेको बैठकले पछिल्लो राजनीतिक घटनाक्रम, दलगत समीकरण तथा बागमती प्रदेश सरकारको स्थायित्वबारे विभिन्न निर्णयहरू गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ।
नेपाली का्रग्रेसको संस्थागत निर्णयलाईनै आफुहरुले मान्यता दिइने संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए । पार्टीसंग सहकार्य भएकाले संस्थागत निर्णलाई आफुहरुले मान्यता दिने समेत उनले बताए ।
एमाले र नेपाली कांग्रेसबीच बागमती प्रदेशमा बनेको सहकार्यको सम्बन्धमा बैठकले स्पष्ट गर्दै भनेको छ, ‘यो सहकार्य कुनै व्यक्तिको निजी सम्बन्धको कारण होइन, दलगत सहमतिमा आधारित छ।’ त्यसैले कांग्रेस संसदीय दलको निर्णयलाई नै आधिकारिक मानेर अघि बढिने बैठकले स्पष्ट पारेको छ।
बैठकले नेपाली कांग्रेस संसदीय दलभित्र देखिएको नेतृत्व विवादलाई उक्त दलको आन्तरिक प्रक्रिया भन्दै त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुने स्पष्ट नीति लिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसभित्र उत्पन्न विवाद प्रजातान्त्रिक प्रक्रियामार्फत छिटो समाधान होस् भन्ने हाम्रो सुझाव हो ।’ एमाले संसदीय दलले आफ्नो सदस्यहरूले उक्त विषयमा कुनै अभिव्यक्ति वा क्रियाकलाप नगर्ने निर्णयसमेत गरेको उल्लेख छ।

साथै, बैठकले हालै सम्पन्न एमाले केन्द्रीय कमिटीको नवौं बैठकमा भएका निर्णयहरूलाई पूर्ण समर्थन गर्दै ती निर्णयहरूको अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। संगठनात्मक अनुशासन, विचारको स्पष्टता र रणनीतिक एकतामा जोड दिँदै अगाडि बढ्ने निर्णय पनि बैठकले गरेको हो।
हालैका दिनमा सार्वजनिक सञ्जाल र केही माध्यमबाट कांग्रेस दलभित्रको समीकरण परिवर्तन गर्न एमाले मन्त्रीहरूको भूमिका रहेको भन्दै गरिएको प्रचारप्रति पनि बैठकले आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘एमाले मन्त्रीहरू समीकरण परिवर्तनमा संलग्न छन् भन्ने आरोपहरू पूर्णतः आधारहीन, निराधार र असत्य छन्।’ बैठकले त्यसप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
बैठकको अन्त्यमा कृषिको मुख्य सिजनमा बजारमा देखिएको रसायनिक मलको अभावलाई गम्भीर रूपमा लिँदै संघीय सरकारसँग तुरुन्तै मल आपूर्ति सुनिश्चित गर्न आग्रह गरिएको छ। ‘मलको अभावका कारण किसान मर्कामा परेका छन्, यसले उत्पादनमा ठूलो असर पार्न सक्छ,’ बैठकको निष्कर्षमा उल्लेख छ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलले आफू जिम्मेवार विपक्ष र सहकार्य दलको हैसियतमा लोकतान्त्रिक मूल्य, स्थायित्व, सुशासन र जनताको हितमा अग्रसर भएर अघि बढ्ने पुनः प्रतिबद्धता समेत व्यक्त गरेको छ।







