बागमती प्रदेशमा एमालेको सुझावका कारण तीन जना मन्त्रीको सपथ ग्रहण स्थगित

जनपत्र
१५ श्रावण २०८२, बुधबार ११:२७

हेटौंडा । बागमती प्रदेशमा आज हुने भनिएको तीन जना मन्त्रीको शपथ ग्रहण नेकपा एमालेको सुझावपछि स्थगित भएको छ। सत्ता साझेदार नेकपा एमालेले प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामालाई दलको नेताको टुंगो नलागेसम्म मन्त्री नियुक्त नगर्न आग्रह गरेपछि मन्त्री नियुक्तिको प्रक्रिया अघि नबढेको हो। आज बिहान १० बजेका लागि तीन जना मन्त्रीहरुको सपथग्रहणको समय तोकिएको थियो ।

मुख्यमन्त्री लामाले आजै केही मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए। तर एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले अहिलेको संवेदनशील परिस्थितिमा मन्त्री नियुक्ति विवादास्पद हुन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएको जानकारी दिए।

‘अहिले यदि हतारमा मन्त्री नियुक्त गरियो भने त्यसले थप विवाद निम्त्याउने खतरा छ। दीर्घकालीन रूपमा यसको असर पनि गम्भीर हुन सक्छ,’ थपलियाले भने, ‘त्यसैले दलको नेता चयन गरेर त्यसपछि मात्रै अगाडि बढ्न हामीले सुझाव दिएका हौं।’

उनले यो सल्लाह सत्ता साझेदारको भूमिकामा राखिएको भए पनि अन्तिम निर्णय मुख्यमन्त्रीकै अधिकार क्षेत्रभित्र पर्ने उल्लेख गरे। ‘हामीले सुझाव त दिएका छौं, तर मान्ने या नमाने मुख्यमन्त्रीको निर्णय हो,’ थपलियाले स्पष्ट पारे।

मुख्यमन्त्री लामाले हालै विश्वासको मत गुमाएका छन् र नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलले आज नयाँ नेता चयन गर्ने प्रक्रिया अघि बढाउँदैछ। यसै सन्दर्भमा लामाले तीन जना मन्त्रीलाई नियुक्त गरेर सपथ गराउने तयारी गरेका थिए। तर एमालेको स्पष्ट असहमति आएपछि सो प्रक्रिया हाललाई स्थगित गरिएको स्रोतले जनाएको छ।

यसरी एमालेको सुझावपछि तय भइसकेको शपथ कार्यक्रम पनि पछाडि सरेको छ। प्रदेशमा राजनीतिक शक्ति सन्तुलन र दलभित्रको नेतृत्व निर्धारण नहुँदै मन्त्री नियुक्ति गर्नु नहुनेमा एमाले स्पष्ट देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*