बागमती प्रदेशमा सत्तासंकट चुलियोः चार मन्त्री पदमुक्त, लामा हटाउन कांग्रेस सांसद आक्रमक
हेटौंडा । बागमती प्रदेश सरकारमा सत्तासंकट झनै चुलिएको छ। नेपाली कांग्रेसबाट सरकारमा सहभागी चारजना मन्त्रीले दिएको राजीनामा स्वीकृत नगरी मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उनीहरूलाई पदमुक्त गरेका छन्। संविधानको धारा १६९(२) (ख) को प्रयोग गर्दै मुख्यमन्त्री लामाले मन्त्रीहरूलाई पदमुक्त गरेका हुन्।
पदमुक्त हुनेहरूमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ रहेका छन्।
यी चारै जना मन्त्रीले शुक्रबार दिउँसो पदबाट राजीनामा पत्र मुख्यमन्त्रीलाई पठाएका थिए। तर, मुख्यमन्त्री लामाले राजीनामा स्वीकृत नगरी उनीहरूलाई संविधानअनुसार पदमुक्त गरेका हुन्।
कांग्रेसले प्रदेश सरकारको नेतृत्वमा रहेका आफ्नै संसदीय दलका नेता लामालाई हटाएर नयाँ मुख्यमन्त्रीको रूपमा इन्द्रबहादुर बानियाँलाई ल्याउने तयारी स्वरूप राजीनामा दिइएको थियो। त्यसका लागि कांग्रेस संसदीय दलका ३७ जना सांसदमध्ये २१ जनाले लामाविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेका छन्।
यो प्रस्ताव नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा दर्ता गरिएको छ। लामालाई हटाउने तयारी कांग्रेसभित्रकै आन्तरिक असन्तुष्टि र असहमतिबाट आएको हो।
अब कांग्रेसले औपचारिक रूपमा संसदीय दलको नेताबाट लामालाई हटाउने प्रक्रिया अघि बढाउने भएको छ भने मुख्यमन्त्रीको परिवर्तनसहित सरकारको पुनःगठनको सम्भावना बलियो बनेको छ।








