बागमतीमा कांग्रेसकै अविश्वास प्रस्तावः मुख्यमन्त्री लामा हटाउन २१ सांसदको हस्ताक्षर

जनपत्र
१० श्रावण २०८२, शुक्रबार १८:०२

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्र गहिरिएको आन्तरिक विवादले नयाँ मोड लिएको छ। पार्टीकै सांसदहरूले मुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।

आइतबार केहीबेरअघि कांग्रेस संसदीय दलको कार्यालयमा दर्ता गरिएको उक्त प्रस्तावमा चार जना मन्त्रीसहित २१ जना सांसदको हस्ताक्षर रहेको छ। दलको नेताबाट लामालाई हटाउने उद्देश्यसहित सांसदहरू सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा एक बैठक बसेका थिए। सो बैठकपछि अविश्वास प्रस्ताव दर्ता गरिएको हो।

मुख्यमन्त्री लामाको नेतृत्वमा सरकारले ल्याएको आर्थिक वर्ष २०८२-८३ को बजेटलाई लिएर पार्टीभित्र असन्तुष्टि चुलिएको थियो। उक्त बजेटप्रति व्यापक असहमतिपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको आवाज तीव्र बनेको थियो।

संसदीय दलको विधानअनुसार दलको नेता नै मुख्यमन्त्री बन्ने प्रावधान रहेको हुँदा लामालाई हटाउन अविश्वास प्रस्ताव दर्ता गरिएको हो। अविश्वास प्रस्ताव अघि कांग्रेसबाट मन्त्री रहेका सुरजचन्द्र लामिछाने, विमल ठकुरी, मधु श्रेष्ठ र मीनकृष्ण महर्जनले राजीनामा दिएका छन्। ती मन्त्रीहरूले मुख्यमन्त्री लामा समक्ष राजीनामा पत्र ह्वाट्सएपमार्फत पठाएका थिए।

पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व परिवर्तनका लागि खुला निर्देशन दिएको स्रोतहरूले जनाएका छन्। देउवाले गत बुधबार लामा र बानियाँ दुबैलाई भेट गरी छलफल गरेका थिए। देउवाले मुख्यमन्त्री लामा स्वयंले राजीनामा दिनुपर्ने सुझाव दिएपछि पनि लामा नछोड्ने अडानमा अडिग रहेपछि अविश्वासको प्रस्ताव अघि सारिएको बताइएको छ।

१३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको चुनावमा बानियाँ मुख्यमन्त्री लामा विरुद्ध उम्मेदवार बनेका थिए। लामा २१ मत ल्याएर विजयी भएका थिए भने बानियाँले १६ मत पाएका थिए। अहिले भने बानियाँकै नेतृत्वमा दर्ता गरिएको अविश्वास प्रस्तावमा ती २१ मतदातामध्ये धेरैले लामाविरुद्ध हस्ताक्षर गरेका छन्।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरूमा बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विन्दु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, उर्मिला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, यदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने र सुना परियार छन्।

यीमध्ये अधिकांश कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा तथा वरिष्ठ नेता प्रकाशमान सिंह निकट मानिन्छन्। बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद रहेका छन्। अब बहादुरसिंह लामाको बहिर्गमनको सम्भावना बलियो बनेको छ भने इन्द्रबहादुर बानियाँलाई नयाँ मुख्यमन्त्री बनाउन कांग्रेस नेतृत्व सक्रिय देखिएको छ।

मुख्यमन्त्री लामाले भने आफू हट्न नचाहेको अडान अझै कायम राखेका छन्। कांग्रेसभित्रै देखिएको यो अन्तरसंघर्ष अब सत्ता हस्तान्तरणको निर्णायक चरणमा पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*