वर्षायाममा हेटौंडा–काठमाण्डौं जोड्ने कान्तिलोकपथ बारम्बार अवरुद्ध, खोल्ने प्रयाससँगै सवारी आवागमन प्रभावित

जनपत्र
२ श्रावण २०८२, बिहीबार ०७:३१

मकवानपुर — लगातारको वर्षाले हेटौंडा–काठमाण्डौं जोड्ने वैकल्पिक मार्ग कान्तिलोकपथ वर्षायामभरि बारम्बार अवरुद्ध हुने र फेरि खुलाउने क्रम दोहोरिरहेको छ। बाढी, पहिरो र नदी कटानका कारण यो सडक खण्ड वर्षायाम लागेपछि नियमित रुपमा सञ्चालनमा बाधा आइरहेको छ।

गत जेठदेखि असारसम्मको मनसुन सक्रियतासँगै कान्तिलोकपथ सडकको ठाउँठाउँमा अवरुद्ध हुने र कान्तिलोकपथ सडक आयोजनाको सहयोगमा खोल्ने काम भइरहे पनि यात्रुहरूले कठिन यात्रा गर्नुपरेको छ।

बागमती नदीमा डाइभर्सन बहाव बढेर बगाउँदा कान्तिलोकपथ अन्तर्गतको बेलीब्रिज सडक समेत क्षति पुगेको थियो। असार २२ गते नदीमाथि बेलीब्रिज जडान गरी चार दिनपछि बल्ल सडक सञ्चालनमा ल्याइएको हो। यसबीचमा सवारी साधन हेटौंडाबाट काठमाण्डौं जाने र फर्कने क्रममा घण्टौंसम्म रोकिएका थिए।

स्थानीय प्रशासनका अनुसार लगातारको झरीसँगै साना पहिरो, सडक कटान र जलमग्नताले गर्दा समयमा काम सम्पन्न गर्न कठिनाइ हुँदै आएको छ। सडकमा रात्रीकालीन सवारी आवागमन समेत समस्या भएको हेटौंडा–५ का चालक स्याम तिमल्सीना बताउँछन् ।

कान्तिलोकपथको स्थायित्व चुनौतीपूर्ण छ। वैकल्पिक मार्गका रूपमा प्रयोग हुने भएकाले छोटो दूरी त भए पनि जोखिम धेरै छ। खोला नजिकको भाग, संकुचित मोड र पहिरोसम्भावित क्षेत्रहरुमा विशेष सतर्कता अपनाइएको छ।

कान्तिलोकपथ हेटौंडाबाट ठिंगनको बाटोहुँदै काठमाण्डौ उपत्यका प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्ग हो। औसत दूरी झन्डै ८० किलोमिटर जति भए पनि सडकको स्तर, वर्षामा पानीको बहाव र निर्माणाधीन खण्डका कारण यो मार्ग वर्षायाममा प्रयोग गर्न जोखिमपूर्ण मानिने प्राविधिकहरु बताउँछन् ।
स्थानीयवासी तथा सवारी चालकहरूले जोखिम मोलेर यात्रा गर्नुपरेको बताउँदै वैकल्पिक संरचनात्मक समाधानको माग गर्दै आएका छन्। उनीहरूका अनुसार सडक कटान भएको ठाउँमा तुरुन्त मर्मत गर्ने, भरपर्दो बेलीब्रिज जडान राख्ने र पहिरो सम्भावित स्थानमा संरक्षणका उपाय अबलम्बन नगरेसम्म समस्या दोहोरिरहनेछ।

बर्षायाममा बारम्बार सडक बन्द हुँदा औषधि, खाद्य सामग्री र अत्यावश्यक सामान ढुवानीमा समेत असर परेको छ। यात्रुहरूले पहिल्यै जानकारी नपाउँदा लामो समयसम्म बाटोमै अल्झिनु परेको गुनासोसमेत गरेका छन्।

मकवानपुरका यातायात व्यवसायी ओम लामिछानेले भने, “हामी वैकल्पिक मार्ग भएकाले जोखिम मोलेर गइरहेका छौं। तर, हरेक वर्षको वर्षामा उही समस्या आउँछ। सम्बन्धित निकायले स्थायी समाधान गर्नुपर्छ।”

वर्षा घटेसँगै सडक सञ्चालन सामान्य हुँदै गइरहेको भए पनि अबको केही साता अझै जोखिम कायम रहेको स्थानीय प्रशासनको भनाइ छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले यात्रु तथा सवारी साधनहरूलाई आवश्यकता परेमा मात्रै यात्रा गर्न र मौसमको पूर्वानुमान हेरेर मात्र बाटोमा निस्कन अनुरोध गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*