महरा प्रकरण : पीडित भनिएकी महिलाले आफूलाई केही नभएको भन्दै प्रहरीमा दिइन् निवेदन

जनपत्र
१६ आश्विन २०७६, बिहीबार ०६:३२

कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले आफू डिप्रेसनको बिरामी भएको र आफूलाई कसैले कुनै दुर्व्यवहार नगरेको भन्दै प्रहरीमा निवेदन दिएकी छिन् । बानेश्वर प्रहरी वृत्तमा दिइएको निवेदनमा कोही कसैले आफूलाई कुनै प्रकारको दुर्व्यवहार नगरेको र बाहिर आएको खबरहरुबारे पनि आफूलाई कुनै जानकारी नरहेको उल्लेख छ ।

पीडित भनिएकी महिलाले नै आफूलाई केही नभएको भनेर प्रहरीमा लिखित निवेदन नै दर्ता गराएकाले अब यो घटनाको छानबिन प्रक्रिया रोकिने भएको छ । छानबिनका लागि आफूहरुलाई केही आधार चाहिने भए पनि पीडित भनिएकी महिलाले नै आफूलाई केही नभएको भनिसकेकाले छानबिनको काम अघि बढ्न नसक्ने महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता होविन्द्र बोगटीले बताउनुभयो ।

गएको सोमबार राती आफ्नो कोठामा आएका महराले आफूलाई दुर्व्यवहार गर्नुका साथै कुटपिट गरेको आरोप ती महिलाले लगाएकी थिइन् । संसद सचिवालयमै कार्यरत ती महिलाले सभामुखमाथि यौन दुर्व्यवहारको आरोप लगाएसँगै चौतर्फी विरोधकाबीच महरा मंगलबार सभामुख पदबाट राजीनामा दिन बाध्य हुनुभएको थियो । तर पीडित भनिएकी महिलाले २४ घण्टा पनि नबित्दै आफ्नो बयान फेरेपछि प्रहरीले छानबिन प्रक्रिया अघि बढाउन लागेको घटनाको छानबिन पनि रोकिने देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*