ड्राइगनफ्रुटको खेत, रोजगारीको केन्द्र : पदमपोखरीका लामाको ४ करोडको कृषियात्रा

जनपत्र
६ असार २०८२, शुक्रबार ०८:१८

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित पदमपोखरीको एक कुनामा फैलिएको हरियाली, सिमेन्टका पोलहरूबीच फूल्न थालेका रङ्गीचङ्गी फलहरू र खेतको छेउमै रमाउँदै गरेका श्रमिकहरूको अनुहारमा देखिएको सन्तुष्टि — यी सबै दृश्यले कृषिको नयाँ सम्भावना देखाउँछ ।

ती दृश्य कुनै सजावटको लागि बनाइएको बगैंचाको हैन, न त कुनै पर्यटकीय ‘थिम गार्डेन’ नै हो । यो हो — फेन्चु लामाको ड्राइगनफ्रुट फार्म — जसले कृषिमा आत्मनिर्भरता, गाउँमै रोजगारी र समृद्धिको स्पष्ट संकेत गरेको छ ।

तीन वर्षअघिको सपना, आजको सफलतामा परिणत

विगत तीन वर्षदेखि एमएनएस एग्रो प्रालिको नाममा सञ्चालन हुँदै आएको यो फार्म हाल पदमपोखरी क्षेत्रकै एक नमुना कृषि उद्यमका रूपमा स्थापित भएको छ । करिब चार करोड रुपैयाँको लगानीमा सुरु गरिएको यो परियोजना अहिले न केवल लामाको परिवारका लागि आम्दानीको श्रोत बनेको छ, बरु अन्य युवाका लागि पनि रोजगारीको अवसर प्रदान गर्ने थलो बनेको छ ।

फेन्चु लामाले आफ्नै दुई बिगाहा जमिनमा सुरु गरेको यो व्यवसाय हाल क्षेत्रीयस्तरमै चर्चा बटुल्न थालेको छ । खेतमा अहिले २,५०० वटा सिमेन्टका पोलहरू गाडेर झन्डै १०,००० ड्राइगनफ्रुटका बिरुवाहरू रोपिएका छन् । बिरुवाहरूमा यसवर्ष फूल फुल्न थालेको छ, जसबाट उत्पादन पनि उत्साहजनक हुने अपेक्षा गरिएको छ ।

गतवर्ष १० लाख आम्दानी, यसवर्ष अझ बढीको अपेक्षा

पछिल्लो वर्ष ड्राइगनफ्रुट खेतीबाट मात्र १० लाख रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष बिरुवाहरू पूर्णरूपमा परिपक्व भइसकेका कारण आम्दानी झन् वृद्धि हुने देखिएको छ । ‘गतवर्षको तुलनामा यो वर्ष बिरुवाले अझ राम्रो फूल फुलाएका छन्,’ फेन्चु लामाले सुनाए, ‘यसवर्ष १५–२० लाखको आम्दानीको अपेक्षा गरेका छौं।’

ड्राइगनफ्रुट उत्पादनको प्रमुख विशेषता यसको उच्च बजार मूल्य, स्वास्थ्यवर्धक गुण र कम प्रतिस्पर्धा रहेको लामाको अनुभव छ । उत्पादनको माग काठमाडौंदेखि हेटौंडासम्म बढ्दो क्रममा छ ।

गाउँमै चार जनालाई स्थायी रोजगारी

लामाको परिवारमा श्रीमती, छोरा–बुहारी र अन्य सदस्य गरी चार जनाले नियमित रूपमा खेतीको जिम्मेवारी सम्हाल्ने गरेका छन् । यस्तै, फार्ममै अन्य चार जना स्थानीय युवाले पूर्णकालीन रूपमा काम पाइरहेका छन् । ‘विदेश जानु पर्ने बाध्यता हटेर यतै काम पाइयो,’ स्थानीय एक युवा कृषक सुरज लामाले भने, ‘बजार पनि राम्रो छ, सिक्न पाइनेछ भन्ने लागेको छ।’

प्रदेश सरकारको सहयोग : कृषिलाई टेवा

यो परियोजनालाई अझ व्यवस्थित बनाउन बागमती प्रदेशको प्रदेश युवा परिषद ले आर्थिक वर्ष २०७९/८० मा ३ लाख रुपैयाँको अनुदान दिएको थियो । उक्त रकमबाट दुई बिगाहा क्षेत्रफलमा तारजाली लगाएर घेराबार गरिएको छ ।

प्रदेश युवापरिषदका अनुसार यस किसिमको सहयोग युवा उद्यमशीलता प्रवर्द्धन गर्न र स्वदेशमै रोजगारी सृजना गर्नका लागि प्रदान गरिन्छ । ‘फेन्चु लामाको परियोजना युवालाई प्रेरणादायी बनेको छ,’ परिषदका एक अधिकृतले भने, ‘यस्ता नमुना परियोजनाहरूलाई प्राथमिकतामा राखेर अझ सहजीकरण गरिनेछ।’

बहु–आयामिक कृषि : ड्राइगनफ्रुट मात्र होइन

लामाले ड्राइगनफ्रुट खेतीसंगै तरबुजा, खरबुजा, मेवा, फूल र घाँस खेती पनि गरिरहेका छन् । गोठघरको छेउमै करिब दुई दर्जनजति बाख्रा समेत पालेका छन् । मल, पानी, घाँस सबै आफ्नै उत्पादन हुने भएकाले बाख्रा पालन पनि सस्तो र प्रभावकारी बनेको छ ।

‘ड्राइगनफ्रुट रोप्नसाथ बाख्राले बगैंचामा घाँस खान्छ, मल दिएर बिरुवालाई पोषण दिन्छ,’ फेन्चु लामाले मुस्काउँदै भने, ‘हाम्रो फार्म पूर्ण रूपमा जैविक प्रणालीमा आधारित छ।’

कृषिमा रमाएको परिवार, प्रेरणा बनेका किसान

फेन्चु लामाको परिवार अहिले पदमपोखरी क्षेत्रमा कृषिका अगुवा परिवारको रूपमा चिनिन्छ । छिमेकी किसानहरू पनि उनलाई सल्लाह लिन आउने गरेका छन् । ‘पहिला यत्रो जग्गा बाँझो राख्थ्यौं,’ लामाकी श्रीमती बताउँछिन्, ‘अहिले खेत नै हाम्रो बैंकजस्तो भयो ।’

त्यस्तै, कृषि विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरू पनि लामाको फार्ममा नियमित रूपमा अवलोकन गर्न आउने गरेका छन् । ‘ड्राइगनफ्रुटको सम्भावना नेपालमा प्रशस्तै छ, तर किसानले अझ बुझेर गर्नु आवश्यक छ,’ लामाले थपे, ‘यसलाई केवल फेसनको खेती होइन, गहिरो सोचसाथ गर्ने हो भने फाइदामै फाइदा छ ।’

ड्राइगनफ्रुट खेती : सम्भावना र चुनौती

नेपालमा पछिल्लो दशकमा ड्राइगनफ्रुट खेती विस्तार हुँदै आएको छ । विशेषतः तराई र मध्यम पहाडी क्षेत्रहरूमा यसको उत्पादन सफल मानिन्छ । तर, यो खेतीलाई व्यावसायिक मोडमा लैजान किसानहरूलाई नीतिगत सहयोग, तालिम, बीउको गुणस्तर, बजार व्यवस्थापन जस्ता पक्षमा अझ टेवा आवश्यक देखिन्छ ।

फेन्चु लामाले आफैले आयात गरेर ल्याएको बिरुवा प्रयोग गरेका थिए । सस्तोको पछि लाग्दा किसानहरू नकली बिरुवा प्रयोग गर्ने समस्या अहिले पनि छ । त्यसैले उनी भन्छन्, ‘किसानलाई गम्भीर हुने बेला आएको छ ।’

गाउँमै सम्भावना, गाउँमै समृद्धि

पदमपोखरीका फेन्चु लामाले देखाएको बाटो नेपाली कृषिको भावी दिशा बन्न सक्छ । ड्राइगनफ्रुटजस्तो अल्पज्ञात बालीमा समेत समर्पणपूर्वक परिश्रम गर्दा आर्थिक सफलता र सामाजिक सन्तुष्टि दुवै सम्भव छ भन्ने प्रमाण लामाले प्रस्तुत गरेका छन् ।

सरकार, नीति निर्माता र निजी क्षेत्रले यस्तो सफल कृषियात्रालाई सघाउने हो भने कृषिमा युवा आकर्षण बढ्नुका साथै वैदेशिक रोजगारीको विकल्प पनि विस्तार हुँदै जान सक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*