मकवानपुरको चित्लाङ–थानकोट सडक सञ्चालनमा

हेटौंडा । चित्लाङ–थानकोट सडक खण्डको सवारी आवागमन सञ्चालनमा आएको छ । पीएसरकिराँतेश्वर जेभी कन्स्ट्रक्सनले यो सडक खण्ड निर्माणको जिम्मा लिए पनि लामो समयदेखि अलपत्र रहँदै आएको थियो । गत जेठमा स्थानीयले सडक निर्माणको काम अवरुद्ध पारेर विरोध जनाएपछि सडक आयोजना कार्यालय, ठेकेदार पक्ष र स्थानीयबीच मंसिरभित्र निर्माण सम्पन्न गर्ने र दशैंमा सडक सञ्चालन गर्ने सहमति भएको थियो । यही पूर्वसहमतिअनुसार, निर्माण भइरहेको सडक दशैंका लागि सञ्चालनमा आएको छ ।
थाहा नगरपालिका–९ का वडाध्यक्ष परशुराम श्रेष्ठले सडक निर्माणको कामले पछिल्लो समय गति लिइरहेको र दशैंका लागि सडक सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो । ‘सम्झौता अनुसार तीनपटक बाटो अनुगमन गर्यौं, त्यसपछि बाटो निर्माणले गति लिएको छ’, वडाध्यक्ष श्रेष्ठले भने, ‘सडकमा विगतभन्दा निकै स्तरीय काम भएको छ ।’
चित्लाङ–थानकोट सडकलाई थाहानगरको मुख्य विकासको मार्ग हो । पर्यटकीय गाउँ मकवानपुरको थाहा नगरपालिका स्थित चित्लाङलाई थानकोटसँग जोड्ने सडकखण्ड निर्माण सम्पन्न नहुँदा चित्लाङसँगै यस आसपासका बासिन्दाले असुविधा झेल्दै आइरहेका थिए।
सडक निर्माण पछि चित्लाङ, बिसिंखेल, टिस्टुङ, बज्रबाराहीको मात्रै नभएर पालुङमा उत्पादित तरकारी समेत उपत्यकामा पुर्याउन र त्यस क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज हुनेछ ।