बागमती प्रदेश सरकारको एक सय दिनका गतिबिधी सार्वजनिक, नियमित कामलाई उपलब्धीका रुपमा ग्रहण
हेटौंडा । बागमती प्रदेश सरकारको एक सय दिनका गतिबिधी सार्वजनिक गरेको छ । एक सय दिनको अवधिमा केही महत्वपूर्ण काम गरेको भनियपनि त्यस्ता कामहरु भएको खासै देखिएको छैन । प्रदेश सरकारले नियमित कामलाई उपलब्धीका रुपमा ग्रहण गरेको छ ।
प्रदेश सरकारले गत असोज महिनामा आएको बाढी पहिरोका कारण भएको क्षति न्यूनिकरणमा काम गरेपनि अरु भने नियुक्ती लगायतका कामलाई आफ्नो उपलब्धीका रुपमा सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री बहादुर सिंह लामा सहित प्रदेश सरकारका मन्त्रीहरु र सचिबहरु सहितको पत्रकार सम्मेलनमा प्रदेश सरकारले एक सय दिन सम्म भएका कामको विवरण आज सार्वजनिक गरेको हो ।
यो अवधिमा प्रदेश सरकारलाई संस्थागत रुपमा सुदृढ गर्न तीन वटा ऐन जारीभएको, बागमती प्रदेश सरकारको दोस्रो आवधिक योजना कार्यान्वयनमा ल्याइएको, भौतिक पूर्वाधार विकास कार्यलाई प्रभावकारी बनाइएकोलगायतका प्रगति सार्वजनिक गरिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री लामाले सय दिनको अवधिमा सुशासन र विकासका लागि आधारहरु तयार गर्ने काम भएको बताउँदै कर्मचारी अभावमा कार्यसम्पादनमा समस्या भएको बताउनुभयो । विपत् व्यवस्थापनमा प्रदेश सरकारले काम गर्न चाहेपनि कति ऐन कानुनका कारण कार्यान्वयनमा समस्या रहेको भन्दै चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कार्यविधि निर्माणलगायतका कार्यहरु गरिएको बताउनुभयो ।
प्रदेश सरकारको सय दिनको मुख्य मुख्य उपलब्धिमा नीतिगत तथा कानुनी सुधार, संवैधानिक नियुक्ति तथा अन्य पदपूर्ति गरिएको, रुग्ण आयोजनाहरुको पहिचान गरिएको, खानेपानी कार्यालय स्थापना, विद्युतीय चालक अनुमतिपत्र प्रणाली विकास गरी सञ्चालनको अन्तिम चरणमा पुगेको, कार्यविधिहरु स्वीकृत गरिएकोलगायतका प्रगति सो अवसरमा सार्वजनिक गरिएको थियो ।
सो अवसरमा भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के र आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले आफ्नो मन्त्रालयले विपत्को समयमा सम्पादन गरेका कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो ।







