६ दिनदेखि मकवानपुरको सिस्नेरी पहिरोमा फसेका चालकको बयान मरिएला भन्ने डरले भोक न तिर्खा बनायो

जनपत्र
१७ आश्विन २०८१, बिहीबार ०८:०२

हेटौंडा । गत शुक्रबार दिउँसो २ बजेतिर काठमाडौँका लागि हेटौँडाबाट हिँडेका चालक अमृत लामा अहिले पनि बाटोमै छन्। ७ जना यात्रु बोकेर हिँडेका उनी हेटौँडा–कुलेखानी–सिस्नेरी हुँदै ४ घण्टामै काठमाडौँ पुगिने सोचमा थिए।

अघिपछि यो बाटोबाट काठमाडौँ छिचोल्न उनलाई ४ घण्टाभन्दा बढी लाग्दैन थियो पनि।  तर, सोच्दै नसोचेको भइदियो।

प्राकृतिक विपत्तिले एउटा पसलसमेत नभएको ठाउँमा लामालाई यसरी अल्झाएर राखेको छ कि, उनी ६ दिनदेखि बाटोमै अलपत्र छन्।

उनले चलाएको बागमती प्रदेश ०३–००१ ज ०६६६ नम्बरको ईभी भ्यान सँगै छ। दैनिक गुजारोको भाँडो उक्त भ्यान छाडेर लामा न हेटौंडा फर्कनै सकेका छन्, न त्यहाँबाट गुडाएर लाने कुनै उपाय नै।

भीमफेदी–१ स्थित बागझोरामा आएको खहरेको भेल बल्लतल्ल काट्दै अघि बढेका उनी अहिले पनि इन्द्रसरोवर गाउँपालिकामा पर्ने सिस्नेरीकै सडकमा छन्।

पहिरोले सिस्नेरी बजार कट्नासाथ सडक बगायो। काठमाडौँतर्फ लाग्ने सडकमा पहिरो खस्यो। त्यसपछि लामाले भोग्नपरेको पीडा शब्दमा बयान गर्नैनसक्ने खालका छन्।

‘रातिको समय थियो, सडक सफा गर्न सकिने अवस्था नै रहेन। त्यो रात (बिहीबार) हाम्रो गाडिमा रहेका ८ जनाले त्यतै कटायौँ,’ अमृतले सुनाए, ‘रातभर परेको पानीले यात्रुहरू अत्तालिएका थिए। कुलेखानी ड्याम खोल्ने सूचनाले झन् तनावमा थियौँ। पानी तिर्खा लाग्दा पनि गाडिबाट निस्कन नसकेर प्याक प्याक भएरै रात बितायौँ।’

शुक्रबार उज्यालो भयो।

भ्यानमा बसेका सबैलाई कहिले उज्यालो होला र डोजर ल्याएर बाटोको माटो पन्छ्याएर गन्तव्यतर्फ लागौँला भन्ने थियो।

अमृतले थपे, ‘तर उज्योलो भएपछि हामी झन् आत्तियौँ। हेर्दाहेर्दै सिस्नेरी बजार बगरमा परिणत भयो। हाम्रो गाडी रोकिएको ठाउँ वरपरका सबै सडकहरू भासियो। सँगै जाममा बसेको एउटा गाडी त पहिरोसँगै सडकबाट तल खस्यो।’

शुक्रबार रातिदेखि पहिरोमा फसेका उनीहरू ५ दिनसम्म अझै सोही स्थानमा छन्। पहिरो पन्छाएर सडक मर्मत गर्ने काम हुँदै गरेकाले आज साँझसम्म काठमाडौँ पुगिन्छ कि भन्ने झिनो आशा रहेको उनी बताउँछन्।

सोही सडकमा शुक्रबारदेखि नै पहिरोमा फसेर सूर्य गोले पनि यता न उता भएका छन्।

२३ वर्षका सूर्यले चलाएको ना १ ज ६२६४ नम्बरको सुमो सिस्नेरी नजिकै रामचन्द्र भञ्याङको पहिरोमा फस्यो। दुवैतिर पहिरो झरेपछि सुमोका यात्रुहरू न हेटौंडा फर्कन पाए, न त काठमाडौंतर्फ नै अघि बढ्न सके।

‘शुक्रबार दिउँसो ३ बजे हेटौंडाबाट हिडेँका थियौँ,’ चालक सूर्यले भने, ‘सिस्नेरीसम्म आइपुग्न ७ घण्टा लाग्यो। सानातिना पहिरो छिचोल्दै त्यहाँसम्म पुगेका हामीले यहाँभन्दा अगाडिको यात्रा गर्न सकेनौँ। त्यति मात्रै होइन, पहिरोले कुनबेला पुर्ने हो? भन्ने डरले सास नै रोकिएला जस्तै भएको थियो।’

उनले चलाएको सुमोमा ८ जना यात्रु थिए। सूर्यका अनुसार ती यात्रुहरू रातभर रोएरै बसे। उज्यालो हँुदा नहुँदै सिस्नेरी बजार बगाएको दृश्यले सबै यात्रु आत्तिएका थिए।

बाटो खुलाउन नसक्ने जानकारी आएपछि यात्रुहरूले हिडेँरै काठमाडौँ जान थाले।

यात्रुहरूसँगै हुँदासम्म सूर्यलाई केही ढाडस मिलेको थियो। जब आ–आफ्ना सामान छाडेर उनीहरू हिँड्न थाले त्यसयता पनि सूर्य आत्तिएका छन्।

‘यात्रुहरू त हिँडेरै भएपनि जाने निर्णय गरेर जानुभयो’, सूर्य भन्छन्, ‘गाडीमा टन्न मान्छे हुँदा मलाई ढाडस भएजस्तै लागेको थियो। तर जब म एक्लै परेँ, त्यसपछि यति अत्यास लाग्यो कि म बयाननै गर्न सक्दिनँ।’

शुक्रबार खाजा खाएर हिँडेका उनको पेटमा आइतबार दिउँसोतिर मात्रै एक पोका चाउचाउ पर्‍यो।

‘पसलहरू सबै बगाएको थियो। एउटा पसल रहेछ अलिक माथि। त्यहाँ पुग्न ४५ मिनेटजति लाग्ने। यो ५ दिनको अवधिमा ३ पोका चाउचाउ र दुई बोतल पानी पर्‍यो। मरिएला कि भन्ने डर लागेको बेला के भोक? के को तिर्खा भनेजस्तै हुँदो रैछ,’ सूर्यले मलिन स्वरमा भने।

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार, उक्त सडकमा सयभन्दा बढी सवारी पहिरोमा फसेको भन्ने सूचना आएपनि प्रतिकूल मौसमका कारण उद्धार गरेर गन्तव्यतर्फ पठाउन नसकिएको हो।

‘जताततै धाँजा फाटेको सडक छ। पहिरोले एक ठाउँबाट अर्को ठाउँसम्म पुग्नै कठिन छ,’ अध्यक्ष पुडासैनीले भने, ‘सोही कारण अहिले हामीले प्रदेश सरकार, संघ सरकारलाई गुहारेर बाटो सफा बनाउने कोसिसमा जुटेका छौं। उहाँहरू छिट्टै आ–आफ्नो गन्तव्यमा पुग्नुहुन्छ।’

यता, बागमती प्रदेशका भोतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्के, संघीय भौतिक मन्त्री दामोदर भण्डारी तथा एमाले सचेतक महेश बर्तौलाको सचिवालय टीम समेत सोही सडकमा अलपत्र परेका यात्रुहरूको उद्धार कार्यमा जुटेको बताउँछन्।

सडक डिभिजन कार्यालय हेटौंडाको हेभी इक्यूपमेन्टका जेसीबी मेसिनहरूले सडक मर्मत गर्दै सवारी पास गराउन आफूहरू लागि परेको प्रदेशका भौतिक पूर्वाधारमन्त्री अमन कुमार मास्केले बताए।

‘बाटोमा फसेका यात्रुहरूको बिजोक देख्न नसकेर म लगायतको टीम हिजो दिउँसोदेखि रातको २ बजेसम्म सोही सडकमै रह्यौँ। ५/६ दिनसम्म खाना खान नपाएर, पहिरोले कुनबेला पु्र्ला भन्ने डर एकातिर,’ उनले अघि भने, ‘अर्कोतिर नेटवर्क नभएका कारण आफन्तहरूसँग यहाँ छु सम्म पनि भन्न नपाएका चालकहरूको अवस्था देखेर माया लाग्यो। उहाँहरूलाई यहाँबाट उद्धार गर्न पाए हुन्थ्यो भनेर रातारात नै काम गरियो। स्काभेटर लगाएर पहिरो हटाएपछि आज बिहान ३० वटा गाडीहरू आफ्नो गन्तव्यतर्फ गए।’

निरन्तर परेको वर्षाका कारण उनीहरूको उद्धार गर्न ढिलो भएकोे स्वीकार गर्दै मन्त्री मास्केल भने, ‘उद्धारकार्यमा ढिलो भएको पक्कै हो। तर बाढी पहिरो नै काबु बाहिरको परिस्थिति सिर्जना भएकोले हामीले चाहेर पनि यहाँसम्म आइपुग्न सकेका थिएनौँ।’

त्यसोत, प्रदेशको भौतिक मन्त्रालयले केही महिना अघि बनाएको क्वीक रेस्पोन्स टीमले यो विपद्का बेला सडक सञ्चालनका लागि तीव्र रुपमा काम गरेको मास्के बताउँछन्।

मन्त्री मास्केका अनुसार, उक्त हेटौंडा–भिमफेदी–सिस्नेरी–काठमाडौँको सडकखण्डमा करिब डेढ सय गाडीहरू शुक्रबारदेखि फसेका थिए। अझै पनि पहिरो पन्छाएर केही सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको उनले बताए। नेपाल खवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*