मोबाइल चोर पक्राउ

जनपत्र
४ भाद्र २०८१, मंगलवार १९:४५

हेटौंडा । पछिल्लो समय पत्रकारिता क्षेत्रमा पनि केही विकृति बढ्दो क्रममा रहेको छ । अझ गल्ती गरेपछि बच्न सकिन्छ की भन्ने उद्देश्यले पत्रकारिता पेशामै नरहेकाहरुले समेत आफूलाई ‘पत्रकार हुँ’ भन्ने गरेको घटना बेला बखत बाहिरिने गरेको छ । यस्तैमा करिब एक वर्षअघि हेटौंडा उपमहानगरपालिकाको कार्यालयबाटै अधिकृत विना थिङको मोबाइल चोरी गर्ने एक व्यक्तिले आफूलाई पत्रकार हुँ भन्दै घटनाबाट उम्किने प्रयास गरेको पाइएको छ ।

मोबाइल चोरी गर्ने व्यक्ति हेटौंडा ११ का प्रदीप पौडेल रहेको प्रहरीले जनाएको छ । उनले आफूलाई हेटौंडाको पत्रकार हुँ भन्ने गरेका छन् । पौडेलले आफू मकवानपुर सन्देश मिडियाको सम्पादक रहेको भन्दै सुरुवातीमा प्रहरीलाई धम्काउने प्रयास गरेका थिए । तर यस्तो नाम गरेको व्यक्ति कोही पनि पत्रकार नरहेको नेपाल पत्रकार महासंघ मकवानपुरले जनाएको छ । ‘चोर, फटाहाहरुले आफूले गरेको गल्तीबाट बच्नका लागि हाम्रो पेशाको बद्नाम गर्नु खेदजनक विषय हो’, नेपाल पत्रकार महासंघका एक पदाधिकारीले भने, ‘हाम्रो पेशाको मानमर्दन गर्नेलाई हदैसम्मको कारबाही हुनु जरुरी छ ।’ जिल्ला प्रहरी कार्यालय मकवानपुरले समेत यस्तो नाम गरेको व्यक्ति पत्रकारितामा कहिँकतै नदेखिएकोले शंकाष्पद भएको बताएको छ ।

‘चोरी गर्ने जोकोही भएपनि चोर हो । पत्रकार हुँ भन्दै उम्किने प्रयास भएको थियो । हामीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएका छौं’, एक प्रहरी कर्मचारीले भने । यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले पत्रकारिता पेशाको मानमर्दन गरेको विषयमा आवश्यक अनुसन्धान गर्ने बताए । ‘म केही दिन छुट्टीमा थिएँ । अहिले कार्यालयमा हाजिर हुन आएको छु । यस विषयमा आवश्यक अनुसन्धान हुने नै छ’, भण्डारीले भने । पौडेललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको उनले बताए । उपमहानगरपालिकाका अधिकृत थिङको मोबाइल चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । अनुसन्धानको क्रममा हेटौंडा ११ का पौडेलले चोरी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका पत्रकार सम्बद्ध विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिले पत्रकार र पत्रकारिता पेशाको बेइज्जत गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*