मकवानपुर अदालतमा झन्डै २२ प्रतिशत मुद्दा सम्बन्धविच्छेदका
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ का गणेश केसी अहिले पत्नीसित सम्बन्धविच्छेदको कानुनी प्रक्रियामा छन् । विगत ३ वर्षदेखि पत्नी अलग बसेकाले सम्बन्धविच्छेदका लागि उनले जिल्ला अदालत मकवानपुरमा गत फागुन १८ मा उजुरी दर्ता गरेका हुन् ।
हेटौंडा उपमहानगरपालिका–५ का ३३ वर्षीय सन्जीव कार्की चैत १२ मा सम्बन्धविच्छेदका लागि उजुरी दिएका छन् । पत्नी घरभन्दा बढी माइतमा बस्ने गरेको, घर–व्यवहारप्रति जिम्मेवार नभएको र नगद सम्पत्ति हिनामिना गरेकाले अलग हुन चाहेको केसीको जिकिर छ ।
छोरीमात्र पाएको भनेर श्रीमान्ले मादक पदार्थ सेवन गरेर कुटपिट गर्ने गरेकाले अंशसहित सम्बन्धविच्छेद गरी पाऊँ भनेर बकैया गाउँपालिका–१ की सिर्जना थापा चैत २० मा जिल्ला अदालत मकवानपुरको ढोका ढकढक्याउन पुगेकी छिन् । २२ वर्षीया थापाका ३ वटा छोरी छन् । मकवानपुरको दुर्गम कैलाश गाउँपालिका–९ की १९ वर्षीया राममाया चेपाङले पतिसँग सम्बन्धविच्छेद गर्नका लागि फागुन ८ मा अदालतमा निवेदन दर्ता गरेकी छिन् ।
तीन बच्चाकी आमा सुनितामायाका २१ वर्षीय पति निर्मल चेपाङले गाउँकै अर्की युवतीसँग बिहे गरेकाले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दर्ता गरेकी हुन् । १४ वर्षको उमेरमा निर्मलसँग उनको विवाह भएको थियो । जिल्ला अदालत मकवानपुरमा गत वर्ष ८ सय ३१ सम्बन्धविच्छेदका मुद्दा दर्ता भए । तीमध्ये ६ सय ६७ मुद्दा फर्स्यौट भएका छन् । १ सय ६४ थान मुद्दा फर्स्यौट हुन बाँकी छन् । सम्बन्धविच्छेदका लागि महिला र पुरुष दुवैले मुद्दा दर्ता गराएका छन् ।
अदालतमा दर्ता भएका मुद्दाको तथ्यांक अनुसार मकवानपुर जिल्ला अदालतमा सरदरमा दैनिक ३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेका छन् । सम्बन्धविच्छेदका लागि दर्ता भएकामध्ये २ सय ५ मुद्दा पुरुषले दर्ता गराएका छन् । चालु आवको साउन महिनाको २० सम्म सम्बन्धविच्छेदका ४५ वटा मुद्दा दर्ता भइसकेको अदालतले जनाएको छ ।
जिल्ला अदालत मकवानपुरमा आव ०८०र०८१ मा ३ हजार ८ सय ७१ मुद्दा दर्ता भएका थिए । तीमध्ये २१ दशमलव ४६ प्रतिशत अर्थात् ८ सय ७१ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।
सम्बन्धविच्छेदका लागि आएका अधिकांश महिलाले पति एवं घर–परिवारको हिंसा सहन नसकेर अदालतको ढोका ढकढक्याउन आउने गरेको बताएका छन् । श्रेस्तेदार पौडेलका अनुसार बालविवाह पनि क्रमशः सम्बन्धविच्छेदमा परिणत हुन थालेको छ । ‘२१र२२ वर्षका युवतीहरू २र३ वटा बच्चा लिएर सम्बन्धविच्छेदका लागि अदालतमा आउने गरेका छन् । उनीहरूको विवाह १५र१६ वर्षको उमेर भएको देखिन्छ,’ उनले भने, ‘सम्बन्धविच्छेदका लागि अदालतमा दर्ता भएका यस्ता मुद्दा प्रसस्तै छन् ।’
‘मुलुकमा नयाँ संहिता कार्यान्वयनमा आएपछि सम्बन्धविच्छेदका लागि पुरुषलाई पनि सहज बनाएको छ, जसले गर्दा सम्बन्धविच्छेदका मुद्दा अदालतमा ह्वात्तै बढेका छन्,’ अधिवक्ता मदन दाहालले भने, ‘अदालतमा दर्ता भएका मुद्दामध्ये २१ प्रतिशतभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका हुने गरेका छन् ।’ महिलासरह पुरुषहरू पनि सम्बन्धविच्छेदका लागि अदालत जान सक्ने कानुनी व्यवस्था गरिएको छ । नयाँ संहिता लागू भएपश्चात् मकवानपुरमा सम्बन्धविच्छेद गर्न कानुनी उपचार खोज्दै अदालतको ढोका ढकढक्याउने पुरुषको संख्या पनि बढेको छ । नयाँ संहिता कार्यान्वयनमा नआउँदासम्म पुरुषले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दर्ता गराउने व्यवस्था थिएन ।
‘महिलाले सम्बन्धविच्छेदका निम्ति अदालतमा दिएको उजुरीमा मेलमिलापमार्फत पुरुष पनि सहजै सहमत हुने भएकाले फैसला चाँडै हुने गरेको छ,’ स्रेस्तेदार पौडेलले भने, ‘पुरुषले दिएको उजुरीमा महिलाको सहमति नभएकाले फैसला हुन समय लाग्ने गरेको छ ।’ मेलमिलापमार्फत सहमति हुन नसकेमा सम्बन्धविच्छेदको मुद्दा फैसला गर्न कम्तीमा एक वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था छ । पति–पत्नीबीच सम्बन्धविच्छेद नहोस्, मिलेर बसून् भन्ने उद्देश्यले एक वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था छ ।
नयाँ देवानी संहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्धविच्छेदसम्बन्धी व्यवस्था छ । त्यसमा महिलाका लागि भएका व्यवस्था पुरुषका लागि पनि राखिएका छन् । यसपछि पत्नीसरह पतिले पनि सम्बन्धविच्छेद गर्न सक्ने भएका हुन् । लगातार तीन वर्ष बेखबर घरबाहिर बसेमा, अंगभंग हुने गरी कुटपिट गरेमा, शारीरिक र मानसिक हिंसा गरेमा पत्नीविरुद्ध पति पनि अदालत जान सक्छन् । पत्नीले कुनै परपुरुषसित यौन सम्बन्ध राखेको अवस्थामा पनि सम्बन्धविच्छेद हुन सक्छ । ‘समानताका नाममा कानुनले पुरुषले चाहेमा पनि सम्बन्धविच्छेद गर्न सक्ने खुकुलो नीति बनाएको छ,’ अधिवक्ता ईश्वर ढकालले भने, ‘यसले सम्बन्धविच्छेद गर्न चाहने पुरुषको संख्या अदालतमा बढेको हो ।’
स्वतन्त्र हुने नाममा ससाना मनमुटावमा पनि पति–पत्नीबीच सम्बन्धविच्छेद हुने क्रम बढेको छ । विवाह भएको वर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्ने युवाहरूको जोडी पनि बाक्लै देखिन थालेको छ । ‘सम्बन्धविच्छेदलाई महिला र पुरुष दुवैको हकमा खुकुलो बनाउँदा सामाजिक र पारिवारिक सम्बन्धमा असर पर्ने र छोराछोरीको भविष्य अन्धकारमय बन्ने देखिन्छ,’ अदालतका एक कर्मचारीले भने, ‘यो नयाँ संहिताले समाजलाई थप विखण्डनतर्फ लैजान्छ कि जस्तो लाग्छ ।’
बाबुआमाको सम्बन्धविच्छेदपश्चात् छोराछोरीको भविष्य जोखिममा पर्ने गरेको सिविन हेल्पलाइन मकवानपुरका प्रमुख झवीन्द्र ज्ञवालीले भने, ‘बाबुआमाको सम्बन्धविच्छेदपछि छोराछोरीको पठनपाठन, पालनपालन र पोषणमा समस्या हुने गरेको छ,’ उनले थपे, बाबुआमाको सम्बन्धविच्छेदपछि छोराछोरी मानसिक रूपमा पनि तनावमा पर्ने गरेका छन् । कान्तिपुरबाट ।







