सौर्य गठबन्धनमा आवद्ध हुने सम्झौता संसदबाट अनुमोदन
काठमाडौं । अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएको छ ।
बिहीबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सम्झौता अनुमोदनका लागि पेश गरेका थिए । जसलाई प्रतिनिधिसभाको बहुमतले अनुमोदन गरेको हो ।
सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बस्नेतले सम्झौता अनुमोदनपछि सौर्य ऊर्जा प्रविधिमार्फत ऊर्जा पहुँच बढाउन सहयोग पुर्याउने बताए ।
ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासका रुपमा आईएसए स्थापना भएको मन्त्री बस्नेतले बताए ।
नेपालको पहिलो प्राथमिकता जलविद्युत नै रहेको तर, जलविद्युतले मात्रै आवश्यकता पूर्ति गर्न सम्भव नभएकाले सौर्य ऊर्जालाई समेत अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
आगामी १२ वर्षभित्र २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको स्मरण गर्दै उनले बर्षायाममा २८ हजार उत्पादन भए पनि सुख्खायाममा ९ हजार मात्रै उत्पादन हुन सक्ने बताए । तर, त्यसबेला नेपालका लागि १४ हजार मेगावाट विजुली कम उत्पादन हुने भन्दै त्यतिबेला सौर्य ऊर्जाले अभाव पूर्ति गर्ने बताए ।







