संक्रमणकालीन न्याय टुङ्ग्याउन निष्पक्ष नेतृत्वको खोजी

जनपत्र
२१ बैशाख २०८१, शुक्रबार १४:३८

काठमाडौं । संक्रमणकालीन न्याय टुङ्ग्याउन निष्पक्ष नेतृत्वको खोजी भएको छ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाएका बेला संसदीय समितिले यस विषयमा चासो राखेको छ ।

बिहीबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा ‘शान्ति प्रक्रिया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका कामकारबाही र सो सम्बन्धमा बेपता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजना’बारे छलफल थियो ।

छलफलमा सहभागी दुवै आयोगका कर्मचारी र समिति सदस्यहरूले विवादरहित, सबैले स्वीकार गर्न सक्ने र अन्तर्राष्ट्रिय समुदायले विश्वास गर्न सक्ने नेतृत्व आवश्यक रहेकोमा जोड दिए ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लोकराज पराजुली राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा स्वीकारयोग्य हुने गरी संक्रमणकालीन न्यायलाई टुङ्गो लगाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरसम्म सबैले मान्यता दिने गरी यो प्रक्रिया टुंगो लगाउनुपर्छ । पदाधिकारी नियुक्तिदेखि काम गर्ने अवस्थामा समेत ख्याल गर्नुपर्ने हुन्छ ।’

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटा नेपालको संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय समुदायको चासो रहेको बताउँछन् । आयोगको नेतृत्वमा निष्पक्ष व्यक्ति खोजिनुको अर्थ शान्ति प्रक्रियाको टुंगो लगाउने प्रक्रियामा अपनत्वको विषय जोडिएको उनको भनाइ छ ।

‘निष्पक्ष भन्नुको अर्थ राजनीतिक दलमा नभएको व्यक्ति भनेको हो । नेतृत्वमा पुगेको मान्छेले काम गर्न सक्छ, उसले दिएको रिपोर्ट कार्यान्वयन हुन्छ भन्ने नै हो’ सचिव सापकोटा थप्छन्, ‘रिपोर्ट ल्याउने व्यक्तिलाई सबैले स्वीकार गरेको होस् भन्ने हो ।’

यसमा मानव अधिकारको क्षेत्रमा काम गरिरहेकाहरूको समेत चासो र खबरदारी रहँदै आएको उनले बताए ।

सचिव सापकोटा भन्छन्, ‘अन्तर्राष्ट्रिय समुदाय र मानव अधिकारको जुन विषयहरू छन् । विभिन्न खालका स्वार्थ समूहहरू जहाँ पनि हुन्छन् । त्यसलाई समेत मिलाएर जानुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*