बच्चाले मोबाइल, टिभी नहेरी खाना खाँदैनन् ? यस्ता छन् ९ टिप्स

जनपत्र
१६ बैशाख २०८१, आईतवार १६:२२

आजभोलि साना बच्चाहरूलाई खाना खुवाउन सजिलो छैन । उनीहरुलाई टिभी र स्मार्टफोनको लत यति धेरै लागेको छ कि ती सामग्री नहेरी खाना खान तयार हुँदैनन् । बालबालिकाको जिद्दीलाई मानेर अभिभावकले पनि टिभी हेरेर खुवाउन थाल्छन् । तर पछि बच्चालाई यसको बानी नै पर्छ ।

यदि बच्चाको यो बानीबाट हैरान हुनुहुन्छ र यसलाई परिवर्तन गर्न खोज्दै हुनुहुन्छ भने यी उपाय अपनाउन सक्नुहुन्छ ।

विस्तारै स्क्रिन समय घटाउने

यदि बच्चा फोन विना केही खान चाहँदैन भने विस्तारै उसको स्क्रिन समय कम गर्ने प्रयास गर्नुपर्छ । यदि बच्चाले आधा घण्टासम्म फोन प्रयोग गर्छ भने उसलाई १५ मिनेटको लागि फोन देखाएर यसलाई बन्द गरिदिनुपर्छ । त्यसपछि विस्तारै स्क्रिन टाइमलाई घटाएर १० देखि ५ मिनेट गर्न सकिन्छ ।

बच्चालाई खाना खुवाउँदा आफू पनि मोबाइल, टिभी नहेर्ने

धेरैजसो बच्चाले आफ्ना आमाबाबुलाई हेरेर धेरै चीज सिक्छन् । यदि खाना खाँदा अभिभावकले नै टेबुलमा फोन राखेर बस्छन् वा आफैं फोनमा व्यस्त हुन्छन् भने बच्चा पनि फोनबाट टाढा हुँदैनन् । त्यसैले आफ्नो बच्चाका लागि राम्रो उदाहरण बन्ने प्रयास गर्नुपर्छ र आफूलाई फोनबाट टाढा राख्नुपर्छ ।

बच्चालाई खाना खुवाउन गाह्रो नमान्ने

प्रायः आमाबाबुले आफ्ना बच्चालाई खुवाउने कामलाई गाह्रो कामको रूपमा लिन्छन् । जसले गर्दा बच्चालाई खाना खुवाउने बेला फोन प्रयोग गर्न वा टिभी हेर्न अनुमति दिन्छन् । तर यसो गर्नबाट जोगिनै पर्छ । बच्चालाई खुवाउँदा, उनीहरूसँग जोडिने प्रयास गर्नुपर्छ र एकअर्कासँगको साथको आनन्द लिनुपर्छ ।

आफ्नो बच्चासँगै खाना खाने

बालबालिकालाई एक्लै खान मन पर्दैन, जसकारण उनीहरूमा टिभी हेरेर खाने बानी बस्छ । यस बानीबाट छुटकारा पाउन अभिभावकले पनि आफ्नो बच्चासँगै बसेर खाना खाने बानी विकास गर्नुपर्छ । बच्चाहरू चाँडै नै ठूलाको नक्कल गर्न थाल्छन् । त्यसैले अभिभावकसँगै खाना खाँदा उनीहरूले टिभी वा मोबाइल नहेरी सजिलै खाना खान थाल्छन् ।

आफूले जे खाने बच्चालाई पनि त्यही खुवाउनुपर्छ

आफ्नो बच्चालाई त्यही खाना खुवाउनुपर्छ, जुन परिवारका अन्य सदस्यले खाइरहेका छन् । यसो गर्दा बच्चाहरू परिवारका अन्य सदस्यसँग सजिलै घुलमिल हुन्छन् र खाना पनि सजिलै खान्छन् ।

बच्चालाई खाना खुवाउन जबरजस्ती नगर्ने

बच्चालाई जबर्जस्ती खाना खुवाउने प्रयास गर्नुहुँदैन । उनीहरूलाई आफ्नो भोक र आहार पहिचान गर्ने मौका दिनुपर्छ । धेरै पटक टिभी हेरेर खाना खाँदा बालबालिकालाई खान मन लाग्दैन, यस्तो अवस्थामा अभिभावकले जबर्जस्ती खुवाउँछन्, जसकारण बालबालिका जिद्दी हुनसक्छन् । त्यसैले उनीहरूलाई जबर्जस्ती खुवाउने भन्दा पनि भोक लागेको बेला खाना खुवाउनुपर्छ ।

सुरुमा मनपर्ने खाना दिने

बालबालिकालाई मनपर्ने खानेकुरा खान दिएमा टिभी नहेरेर पनि खाना सजिलै खान सक्छन् । खाना खाँदा टिभी हेर्ने बानीबाट छुटकारा दिलाउन,  सुरुमा उनीहरूलाई मनपर्ने खाना दिनुपर्छ । त्यसपछि विस्तारै उनीहरूलाई सन्तुलित खाना दिनुपर्छ ।

मोबाइल हेर्ने बानी छुटाउन अन्य कुरामा संलग्न गराउने  

बच्चाको मोबाइल टिभी हेर्दै खाना खाने बानी छुटाउन केही दिनका लागि उसलाई भिडियो कलमा कसैसँग कुरा गर्न दिने, खेलौना खेल्न दिने वा अन्य चीजहरू दिएर भुलाउन पनि सकिन्छ । यसो गर्दा उनीहरूको स्क्रिन हेर्ने बानी छुट्छ ।

धैर्य र तयार रहने

खानाको कुरा गर्दा बच्चाको व्यवहारमा अचानक परिवर्तन हुन्छ, त्यसैले उनीहरूलाई खुवाउँदा सधैं धैर्य गर्नुपर्छ । बच्चाले खाना खान अस्वीकार गर्छ वा जिद्दी गर्छ भने उसको जिद्दीलाई मान्नुहुँदैन र आत्मनियन्त्रण कायम राख्नुपर्छ ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*