कास्की २ मा उम्‍मेदवार बन्‍ने निश्चित भएपछि कांग्रेस नेतृ साझा पार्टीमा

जनपत्र
२९ भाद्र २०७६, आईतवार ०६:३०

नेपाली कांग्रेसमा आवद्ध नेतृ रजनी केसी साझा पार्टी प्रवेश गरेकी छन्। उक्त पार्टीले शनिबार पोखरामा कास्की र पोखरा महानगर संयोजक घोषणा गर्न आयोजना गरेको कार्यक्रममा केसी साझा प्रवेश गरेकी हुन्। साझाले उनलाई कास्की क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने उक्त पार्टी स्रोतले जनाएको छ।

पोखरा विश्वविद्यालयमा उपप्रशासक केसी २० वर्षे सेवावधि सकेर पेन्सन पाकेपछि उक्त पदबाट राजीनामा गरी साझा पार्टी प्रवेश गरेकी हुन्। उनको राजीनामा कात्तिक १ गतेदेखि लागु हुने गरी विश्वविद्यालयले स्वीकृत गरेको छ।

कांग्रेसमा लाग्दा पनि कुनै परिवर्तन र सुधारको संकेत नपाएरै बिना मोलमोलाई साझामा प्रवेश गरेको केसीले बताइन्। तर उनी उम्मेदवार बन्ने पक्कापक्की गरेरै पार्टी प्रवेश गरेको साझा स्रोत बताउँछ। तर शनिबारको कार्यक्रममा साझाले उम्मेदवार घोषणा गरेन। पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले कास्कीमा स्थानीयलाई नै उम्मेदवार बनाउने भने बताए।

नेविसंघ हुँदै नेपाल महिला संघ र कांग्रेसमा सक्रिय नेतृ केसी २०५० को मध्यतिर पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनमा सदस्य उम्मेदवार थिइन्। उनले त्यो चुनाव भने जितिनन्। हक्की र जोशिलो स्वभावकी केसी विद्यार्थी राजनीति गर्दादेखि नै चर्चित थिइन्। केसीले साझाको नीति र कार्यक्रमबाट प्रभावित भएरै कांग्रेस छाडेर साझा प्रवेश गरेको उल्लेख गरिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*