नेपाललाई आईएमएफको सुझाव : ऋण होइन, राजस्व बढाऊ

जनपत्र
७ बैशाख २०८१, शुक्रबार ११:४०

वासिंङ्टन डीसी । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपाललाई ऋणभन्दा राजस्व बढाउन सुझाव दिएको छ । नेपालको ऋणको तह माथि नभए पनि पछिल्लो समय यो तीव्र रुपमा बढिरहनु चिन्ताको विषय भएको आईएमएफले जनाएको छ ।

‘पछिल्ला दिनमा ऋण बढेको मात्रै छैन । सरकारले त्यसमा उच्च ब्याज तिर्नुपरेको छ । त्यो चिन्ताको विषय हो’, आईएमएफका एसिया प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले भने । नेपाल मात्रै नभएर अन्य न्यून आय भएका मुलुकमा यो समस्या रहेको र त्यसलाई आईएमएफले केही वर्षदेखि हेरिरहेको पनि उनले बताए ।

यो समस्या समाधान गर्न नेपालले वित्तीय घाटा तथा ऋणको हिस्सा घटाउने नीति निर्माणमा ध्यान दिनुपर्ने उनले बताए ।

नेपालजस्ता न्यून आय वर्गका मुलुकहरुले ऋणको सावाँ ब्याज भुक्तानीका लागि धेरै पैसा खर्च गर्नु परिरहेकाले पुँजीगत खर्चको आकार घटेको विषयमा के भन्नुहुन्छ भन्ने अनलाइनखबरको प्रश्नमा श्रीनिवासनले भने,  ‘यो विषय निकै महत्वपूर्ण छ । र, हामीले केही वर्षदेखि यसमा ध्यान दिइरहेका छौं । यसमा अझै चिन्ताको विषय भनेको त्यसरी लिने ऋणको ब्याज अत्याधिक छ ।’

यसरी ऋणको आकार बढ्दा राजस्वबाट उठेको पैसा त्यसलाई चुक्ता गर्न खर्च गर्नु परिरहेको उनले बताए । ‘त्यसो हुँदा आर्थिक वृद्धिलाई अघि बढाउने क्षेत्रहरुमा लगानी गर्न स्रोतको समस्या पर्ने देखिएको छ’, उनले भने ।

‘ऋणको मात्रा घटाउने एक मात्रै उपाय राजस्व बढाउनु हो । त्यसो हुँदा नेपालले राजस्वको आधार बलियो बनाउन ध्यान दिनुपर्छ ।  त्यसका लागि कर छुट दिने क्षेत्रहरु कम गर्नुपर्छ,’ आईएएफको एसिया प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*