हेटौंडाको गुन्द्रुकलाई सरकारी गुणस्तरको मान्यता
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन थालिएको गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौंडा–१२ घलेगाउँमा रहेको कञ्चनजंगा कृषि सहकारी सस्था लधु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो ।
लधु उद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडा स्थित खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञा पत्र दिएको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्याममा लागेको साना व्यवसायी मध्य गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको बताइएको छ ।
मान्यता प्राप्त गरेसँगै जिल्ला भित्र र बाहिरी शहरमा बिक्रीका लागि बाटो खुलेको छ । करिब चार महिना लामो परिक्षण र निगरानी पश्चात खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञा पत्र दिएका उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताए । उपमहानगरपालिकाको १ लाख रुपियाँ बाट थालेको अर्गानिक साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्विकृत पाउँदा आफुहरु निकै खुशी भएको उद्यमी समुहका अध्यक्ष चिनीमाया गुरुङले बताइन् ।
गाउँमा आयआर्जनका लागि केही काम नभइ बसेका हामिलाई उपमहानगरले कामका लागि दिएको हौसलाले अहिलेको अवस्था आएको उनले बताइन् । ‘यसै बसेका थियौं, काम गर्नका लागि लगानी गरिदिने नगर प्रमुखले भनेपछि गुन्द्रुकको काम थालेका हौं ’ अध्यक्ष गुरुङले भनिन् । नगरको पैसा र सहकारीको ८० हजार रुपियाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर साग लगाई गुन्द्रुकको उत्पादनमा लागेको उनले बताइन् ।
अनुज्ञा पत्र नहुँदा बजारमा लैजान नपाएर गाउँमै अहिले करिब ३ लाख रुपियाँ बराबरको गुन्द्रुक घरमै राखेको उनले जानकारी दिइन् । अब बजारीकरणको बाटो खुलेको छ, उपमहानगरले सहयोग गरे हामि समुहमा रहेका १२ जनाले गरेको कामले सार्थकता पाउँने बताइन् । गत असोजमा कामको लागि सम्झौता गरेसँगै समुहले मंसिरबाट गुन्द्रुकको उत्पादन थालेका थिए । उद्योग शाखाको तथ्याङक अनुसार उपमहानगरले ८०० भन्दा बढीलाई बिभिन्न प्रकारका तालिम दिएपनि अहिले २६८ जना उद्यममा जोडिएको जनाएको छ ।
हेटौंडामा उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने नगर प्रमुख मीनाकुमारी लामाले बताएकी छन् । उद्यमी समुहलाई अनुज्ञा पत्र हस्तान्तरण गर्दै उनले हेटौंडा बजार सहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
उनले पहिलो चरणमा हेटौंडामा रहेको साना तथा ठुलो होटलहरुमा यहाँको उत्पादनलाई राख्नका लागि पहल गर्ने र बाह्य जिल्लामा बिक्रीका लागि आन्तरीक पहल गर्ने बताइन् । उपमहानगरपालिकाले लगानी गरेर घेरै तालिम तथा अन्तरक्रिया गरेपनि अहिले गरेको सानो लगानीले यहाँका महिलाहरुलाई उद्यमी बनाउँन मद्दत पुगेको बताइन् । उनले उपमहानगरको लगानीमा हेटौंडामा सञ्चालन भएको कोशेली घरमार्फत स्थानिय उत्पादनलाई बजारीकरणमा सहयोग गरीरहेको बताइन् ।
स्थानिय उत्पादनलाई बजारीकरण गर्ने तयारी अनुसार नगर प्रमुख लामाले मकवानपुका होटल व्यवसायीसँग छलफल गरेकी छन् । छलफलका क्रममा होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष दिलिस गोबिन्द जोशीले मासिक १२ सय किलो गुन्द्रुक जिल्लामा खपत हुने गरेको बताए । उनले बाह्य ठाउँबाट ल्याएको गुन्द्रुक भन्दा यहाँको उत्पादन बिक्रीका लागि पहल गर्ने प्रतिबद्धता जनाए । प्रयोगका लागि गुणस्तरको कुरा हो सरकारी मान्यता प्राप्त भएपछि हामिलाई प्रयोग गर्न कुनै समस्या छैन सस्थागत रुपमै नगरको उत्पादन बिक्रीका लागि पहले गर्ने बताए ।
यहाँ उत्पादन भएका सामग्रीहरुलाई होटलको मेन्यूमै राखेर बिक्रीगर्न कुनै समस्या नभएको भन्दै उनले संघको बैठकबाटै निर्णय गरेर अघि बढ्न तयार रहेको जानकारी दिए । उपमहानगरपालिका आर्थिक बिकास समितिका संयोजक अनिल बाँनियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी सहित बिभिन्न वडाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।







