रैथाने बाली जोगाउँदै मकवानपुरका स्थानीय तह
हेटौंडा । रैथाने बाली जोगाउनका लागि मकवानपुरका स्थानीय तहहरु लागिपरेका छन् । बिशेषगरी मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका रैथाने बाली जोगाउनका लागि लागिपरेका हुन् ।
मकवानपुरको मनहरी गाउँपालिका, बकैया गाउँपालिकाले पनि रैथाने बालीमा जोड दिन थालेको छ । आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण मकवानपुरमा रैथाने बाली संरक्षणमा चुनौती बढेकोले पनि स्थानीय सरकारको पहलमा रैथाने बाली जोगाउनका लागि स्थानीय सरकार लागिपरेको हो । एक दशक अगाडिसम्म मकवानपुरको ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौ, उवालगायतका खाद्य बाली पछिल्लो समय निकै कम हुने गरेको छ। खेती कम हुन थालेसँगै उत्पादन पनि घटेको छ।
किसानलाई रैथाने बाली खेतीतर्फ आकर्षित गर्नका लागि मकवानपुरगढी र भीमफेदी गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न थालेको छ। रैथाने बाली बिक्री गर्दा पालिकाले थप रकम समेत दिने गरेको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान बताउनुहुन्छ । किसानलाई नयाँ प्रविधिसँग जोड्ने र पुराना खेतीलाई पनि संरक्षण गर्ने गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ।
रैथाने बालीले बजार र उत्पादनअनुसारको मूल्य नपाउँदा किसान मर्कामा पर्दै आएका थिए। उन्नत जातका खाद्य बाली फस्टाउन थालेपछि कृषकले पनि रैथाने बाली खेती गर्न छोड्दै गएका हुन्। परम्परागत बाली गाउँको पाखो बारीमा उत्पादन हुने गर्थे। तर पछिल्लो समय ती बाली उत्पादन हुने बारी वनमाराले ढपक्क ढाकिएका छन्। खेती भइरहेका बारीमा पनि फलफूललगायत अन्य नगदेबाली लगाइएको छ।
स्वादिष्ट र स्वास्थ्यका लागि फाइदाजनक पुरानो बाली संरक्षण बजारीकरणका लागि गढी गाउँपालिकाले बजेट विनयोजन गरेर किसानलाई प्रोत्साहित गर्दै आएको हो । मकवानपुरका ग्रामीण क्षेत्रबाट बजार झर्ने बढेपछि रैथाने बाली संरक्षण गर्न नसकिएको र यसको संरक्षण गर्नका लागि थप रकम गाउँपालिकाहरुले सहयोग गर्दै आएका हुन् ।






