चिनियाँ विदेशमन्त्री आइतबार काठमाडौं आउने

जनपत्र
१९ भाद्र २०७६, बिहीबार ०६:०२

चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार नेपाल आउने भएका छन् । विदेशमन्त्री वाङ दुईदिने नेपाल भ्र्रमणका क्रममा २२ भदौका दिन आउन लागेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार वाङ इस्लामावादमा हुने पाकिस्तान–अफगानिस्तान–चीनबीचको त्रिपक्षीय बैठकमा सहभागी भएर आइतबार साँझ काठमाडौं आइपुग्नेछन् । चिनियाँ राष्ट्रपति सी चिङफिङको सम्भावित नेपाल भ्रमणको तयारीका लागि वाङको नेपाल भ्रमण हुन लागेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकोे निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउन लागेका हुन् ।

चिनियाँ विदेशमन्त्री वाङ यसअघि गत जुलाईमा प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उच्चस्तरीय राजनीतिक भेटघाटमा नेपाल आएका थिए । विदेशमन्त्री वाङले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्र्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्ने छन् । उनले नेपाल भ्रमणमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीसँग दुई पक्षीय छलफल गर्नेछन् ।
यसअघि परराष्ट्रमन्त्री ज्ञवालीले गत १८ असारमा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका थिए । सो भेटवार्ताको क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङलाई नेपाल भ्र्रमणको निम्तो दिएका थिए । ग्रेट हल अफ द पिपुलमा भएको भेटवार्ताका क्रममा उनीहरूबीच दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र आपसी सहयोग बढाउने बारेमा छलफल भएको थियो ।
चिनियाँ राष्ट्रपति सी चिङफिङ ११ अक्टोबरमा भारतको पाँचदिने भ्रमण गर्दै छन् । सो भ्रमणको अघि या पछि चिनियाँ राष्ट्रपति नेपाललाई ट्रान्जिट बनाएर ९ घण्टाका लागि नेपालमा आउन सक्ने अपेक्षा गरिएको छ । राष्ट्रपति सीको भ्रमणको मिति सार्वजनिक गरिसकिएको छैन । वाङले राष्ट्रपति सीको भ्रमणको समयमा सुरक्षा व्यवस्थालगायतको विषयमा समेत छलफल गर्नेछन् । वाङले ग्रिन सिग्नल दिएपछि मात्र राष्ट्रपति सीको नेपाल भ्रमण निश्चित हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*