प्रियंका कार्कीले निर्माण गर्न लागेको फिल्मको निर्देशकमा सिमोस सुनुवार

प्रियंका कार्कीले निर्माण गर्न लागेको फिल्मको निर्देशकमा सिमोस सुनुवार अनुबन्धित भएका छन् । आइतबार प्रियंकाको कम्पनी आयंका फिल्म्स र निर्देशक सुनुवारबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
रोचक कुरा के छ भने यो फिल्मलाई प्रियंकाका पति तथा अभिनेता आयुष्मान देशराज श्रेष्ठले छायांकन गर्नेछन् । तिहारलगत्तै छायांकनमा जाने फिल्मले दिदीबहिनीको सम्बन्धको कथा पेश गर्नेछ । दिदीको भूमिकामा प्रियंकाले अभिनय गर्नेछिन् भने बहिनीको रोलमा नयाँ अभिनेत्रीलाई कास्ट गर्ने तयारी छ ।
नेपाली नयाँ वर्षमा प्रदर्शन लक्ष्य राखिएको यो फिल्म नारीप्रधान कथावस्तुमा बन्न लागेको थ्रिलर र एक्सन फिल्म हो । यसअघि ‘जस्ट एनदर लभस्टोरी’ वेब(सिरिजमा काम गरेका प्रियंका र सिमोसले यो फिल्ममा सहकार्य गर्न लागेका हुन् । अहिले दुवै जना टिभी सिरिज ‘हिमालय रोडिज’मा व्यस्त छन् ।
सिमोसकै कन्सेप्ट रहेको यो फिल्मको स्क्रिप्टको दुई चरण ड्राफ्ट सकिएको छ । ‘तिहारलगत्तै सुटिङमा जाने र नयाँ वर्षमा छायांकन गर्ने तयारी छ,’ फिल्मबारे सुनुवारले भने । उनका अनुसार दुई अभिनेत्री र दुई पुरुष अभिनेता यसमा कास्ट हुनेछन् ।
अभिनेता आयुष्मान छायांकार बन्न लागेकोबारे सिमोसले भने, ‘उसले पढेको पनि छायांकन नै हो । यो विधामा पनि उसले राम्रो काम गर्न सक्छ भन्नेमा म विश्वस्त छु ।’ यो फिल्मलाई प्रियंकाको आयंका फिल्म्स र जुनतारा फिल्म्सको संयुक्त व्यानरमा निर्माण हुँदैछ । प्रियंकाले पहिलोपटक होम प्रोडक्सन फिल्म बनाउन लागेकी हुन् ।
निर्देशक सुनुवारको कुरा गर्दा उनी निर्देशित ‘हात्तीछाप’ प्रदर्शन तयारीमा छ । यसपछि ‘झ्यानाकुटी २’ को निर्देशन गर्ने तयारीमा सिमोस जुटेका छन् ।