फिल्म प्रचारका लागि भक्तजनमाझ ‘परदेशी २’ टिम
दशैंको अवसर पारेर आगामी शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म ‘परदेशी २’ यतिबेला प्रचार–प्रसारमा जोडतोडले लागि परेको छ । प्रसारका लागि निर्माण टिमले यतिबेला एकातर्फ काठमाडौँका विभिन्न कलेजमा गीति नाटकमार्फत फिल्मको प्रचारप्रसार गरिरहेको छ । अर्कोतर्फ कलाकार विभिन्न कार्यक्रमहरुमा समेत पुगेर ‘परदेशी २’हेर्न दर्शकलाई अपील गरिरहेका छन् ।
यसैबीच, फिल्मका निर्देशक एवं कलाकारहरु शनिवार भक्तजनमाझ प्रस्तुत भएका छन् । भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले फिल्मको प्रचार गरेका छन् ।
निर्देशक एवं कलाकारहरुलाई त्यहाँ बाजागाजा र फूलमालाले भव्य स्वागत एवं सम्मान गरिएको थियो । निर्देशक नारायण रायमाझीले सुरुवातमा भक्तजनमाझ भजन प्रस्तुत गरेका थिए । त्यसपश्चात अन्य सांगीतिक प्रस्तुति समेत दिएका उनले घरघरको कथामा ‘परदेशी २’ बनेको बताउँदै चलचित्र हेर्न अपील गरेका थिए ।
अभिनेता प्रकाश सपूतले चर्चित गीतहरु प्रस्तुत गर्दा भक्तजनले तालीले स्वागत गरे । उनले ‘परदेशी २’ सामाजिक कथामा पारिवारिक चलचित्र बनेको बताउँदै माया गरिदिन आग्रह गरे ।
अभिनेत्रीद्धय केकी र वर्षाले दशैंको फेस्टिभ माहोलमा मनछुने फिल्म आउँदै गरेको बताउँदै सबैलाई मनपर्ने विश्वास दिलाए । शनिवार महायज्ञमा झण्डै १५ सय भक्तजन उपस्थित थिए । फरक खालका दर्शकमाझ पुग्दा नौलो अनुभूति भएको अनुभव निर्माण टिमको थियो ।
‘परदेशी २’मा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ ।






