क्या कर्णप्रिय थिए पुराना गीत

जनपत्र
१६ आश्विन २०८०, मंगलवार ०६:५१

गीत–संगीत समाजका ऐना हुन्। माया प्रेमका रंगीन किस्सादेखि घरपरिवारका दुःख, जिन्दगीका कथा–व्यथालाई संगीतले समेट्ने गर्छ। गीत–संगीत विशुद्ध मौलिक सिर्जना हुनुपर्छ। पछिल्ला समय बजारमा आएका गीतहरू मौलिक कम, भाइरल बढी छन्। यी गीत–संगीतले अहिलेको समय र समाजलाई बोक्न सक्दैनन्। कोठामा बसेर दुर्गम गाउँको ठेट शब्द लेख्न गाह्रो हुन्छ। स्थानीय लय र लवज अनि झर्रा नेपाली शैलीका गीत–संगीत लेखिन छोडे। सुन्नलाई मात्रै लेखिएका गीतले मौलिकता जोगाउन सक्दैनन्।

वर्षौं–वर्षसम्म श्रोताको जनजिब्रोमा झुन्डिएका मर्मस्पर्शी गीत–संगीत अझै अमर छन्। पुराना अग्रज कलाकारले सिर्जना गर्नुभएका गीतहरूले त्यही समयको समाजलाई बोक्छ। नेपाली सांगीतिक इतिहासमा सम्झनलायक सयौं गीतहरू आज पनि उत्तिकै मीठा सुनिन्छन्। अहिलेका पुस्ताले पनि पुराना गीत सुन्ने गरेका छन्।

गीत लेखेर सार्वजनिक गर्दासम्म निकै खर्च भइरहेको हुन्छ। अहिलेको समयमा भाइरल हुने बहानामा गीतहरू बजारमा आएका छन्। म्युजिक भिडियो बनाउँदा पनि लागत बढी लाग्छ। थोरै पैसा हुनेले गीत गाउने र बजारमा ल्याउने उपाय नै छैन। गीत बेचेर आम्दानी हुन्छ भन्ने पनि कुनै ग्यारेन्टी छैन। डिजिटल मार्केटको प्लेटफममा गीत अपलोड भइसकेपछि भगवान भरोसामा छोड्नुपर्ने बाध्यता छ। नयाँ कलाकारलाई यो क्षेत्रमा टिक्न र काम गर्न निकै गाह्रो छ।

म्युजिक भिडियो बनाउँदा कलाकारले लगाउने कपडा र फेसनमा पनि विकृति देखिन थालेको छ। चर्चाको नाममा गीतमा जे पनि भन्ने, जे पनि लेखीदिने र जस्ता पनि ड्रेस प्रयोग गर्ने प्रचलनले सम्रग संगीत क्षेत्रलाई असर गरिरहेको छ। यसको परिणाम स्वरूप चलेका भनिएका गीत केही दिन ‘हाईहाई’ हुने र त्यसपछि गुमनाम हुने गर्छन्। यसको असर कलाकारलाई पर्छ।

गीत–संगीत क्षेत्रलाई सुधार्न कलाकार नै एकजुट हुनुपर्छ। चर्चाका लागि मात्रै भन्दा पनि जीवन्त र मौलिक गीतहरू रचना गर्नुपर्छ। नेपाली स्वादका गीत लेखिन बाँकी छन्। गाउँठाउँमा लुकेर रहेका भाकाहरू सार्वजनिक हुन बाँकी छ।

कुन्ती मोक्तान

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*