नेपाल र भारतका कप्तानद्वय रोहितको गज्जबको संयोग
काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले सोमबार छिमेकी भारतसँग ऐतिहासिक खेल खेल्दै गज्जबको प्रदर्शन ग¥यो । वर्षाले बारम्बार प्रभावित खेलमा ओभर छोट्याएपछि नेपाल १० विकेटले पराजित भए पनि विश्वकै ‘पावर हाउस’ विरुद्ध २३० रन बनाउँदा सारा संसारको मन जितेको थियो । आसिफ शेखले अर्धशतक बनाउँदा सोमपाल कामी अर्धशतकबाट दुई रनले मात्र चुकेका थिए ।
भारतीय कप्तान रोहित शर्माले टस जितेर नेपालका कप्तान रोहित पौडललाई पहिले ब्याटिङको निम्तो दिएका थिए । निर्धारित ५० ओभरमा १० बल बाँकी छँदै अलआउट हुँदै नेपालले २३० रन बनायो । तर वर्षाका कारण २३ ओभरमा खेल छोट्याइएपछि भारतले १४५ रनको नयाँ लक्ष्य पायो । भारतीय कप्तान रोहित शर्मा र शुभमन गिल मिलेर पहिलो विकेटका लागि अविजित १४७ रनको साझेदारी गर्दै १० विकेटको जित दिलाए ।
भारतका लागि रोहितले अविजित रहँदै सर्वाधिक ७४ रन बनाए । ५९ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । यस्तै गिलले ६२ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ६७ रन बनाए । खेलको प्लेअर अफ दि म्याच उनै रोहित शर्मा घोषित भए ।
नेपालका २१ वर्षीय युवा कप्तान रोहित पौडलको आइडल उनै ३६ वर्षीय रोहित शर्मा थिए ।







