सिंगापुरविरुद्ध सेमिफाइनल खेल्दै नेपाल

जनपत्र
१८ असार २०८०, सोमबार ०७:०३

नेपालले एसीसी यू–१६ इस्ट जोन क्रिकेटको सेमिफाइनलमा सोमबार सिंगापुरको सामना गर्नेछ । मलेसियामा भइरहेको प्रतियोगितामा दाबेदार नेपालले समूह चरणको खेलमा थाइल्यान्ड र मलेसियालाई सजिलै हराएको थियो । नेपाल समूह ‘ए’ विजेता बनेर अगाडि बढेको हो ।

समूह चरणको अन्तिम खेलमा हङकङसँग ७ विकेटले पराजित भएपछि सिंगापुर समूह ‘बी’ को उपविजेता बनेको थियो । पहिलो दुई खेलमा सिंगापुरले माल्दिभ्सलाई २ सय ४५ रनले र इन्डोनेसियालाई १ सय ३४ रनले हराएको थियो । माल्दिभ्सविरुद्ध ३१ ओभरमा छोट्याइएको खेलमा सिंगापुरले ३ विकेट गुमाई २ सय ७९ रन बनाएको थियो ।

सिंगापुरले इन्डोनेसियाविरुद्ध निर्धारित ३५ ओभरमा ९ विकेट गुमाई २ सय ३५ रन बनाएको थियो । तर, समूह चरणको अन्तिम खेलमा टोलीले बनाएको २ सय ७ रनलाई हङकङले अन्तिम ओभरमा पूरा गरेको थियो । हङकङले अर्को सेमिफाइनलमा मलेसियाको सामना गर्नेछ ।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनले हराएको थियो । ओपनिङ जोडी नीरज यादव र सूर्यांशु कोइरालाले पहिलो विकेटमा १३ ओभरमा १ सय २६ रन जोडेपछि नेपालले थाइल्यान्डविरुद्ध ८ विकेट गुमाई २ सय ६९ रन बनाएको थियो । जवाफमा आएको थाइल्यान्डलाई १३.२ ओभरमा ४४ रनमै अलआउट गरेको थियो ।

थाइल्यान्डविरुद्ध नीरजले ७४, सूर्यांशुले ४०, नरेन भट्टले अविजित ५५ र सन्तोष यादवले ४२ रन बनाएका थिए । बलिङमा सन्तोषले ह्याट्रिकसहित ५ विकेट लिएका थिए । मलेसियाविरुद्ध अशोक धामीले ५२ तथा सूर्यांशु र अशोकले समान २९ रन बनाएका थिए । नेपालबाट अशोकले ७ ओभरमा १४ रन खर्चेर ४ तथा अभिषेकले ३ र सन्तोषले २ विकेट लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*